१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

Radio Khabar Palika

प्रहरी महानिरीक्षक थापाद्धारा जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन उद्घाटन



धनकुटा, १ जेठ । प्रहरी महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन । बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक थापाले कार्यालय भवनसहित कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरेका हुन । उनले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सामाजिक सञ्जालका कारण साइबर अपराध बढेको भन्दै सचेत हुन सबैलाई आग्रह गरे ।

उनले प्रहरीको काम सुन्ने मात्रै नभएर कार्यान्वयन गर्ने भएकाले त्यसमा ध्यान दिन र राम्रो भवनमा बसेर राम्रो काम मात्रै गर्न मातहतका निकायलाई निर्देशन समेत दिए । प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको थापाले जानकारी गराए । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवद्र्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

उनले भवन निर्माण कार्यमा सहयोग गर्नेलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए ।जिल्ला प्रहरी कार्यालयको भवन, ब्यारेक र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड ७२ लाख ९० हजार ५९ रुपैया बजेट विनियोजन भएकोमा ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैयाँ मा सम्पन्न भएको प्रहरीले जनाएको छ किराँतेश्वर कम्पनी एण्ड ड्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाण्डौले प्रहरी कार्यालयको ५ रोपनी १४ आना ४ पैसा क्षेत्रफलमा रहेको जग्गामा भवन निर्माण गरेको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले शुभकामना दिदै प्रहरीले गरेको सकारात्मक कामको प्रशंसा गरे । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले स्वागत गरेका थिए । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्र भलादमी, सञ्चारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।