
१७, चैत्र धनकुटा ।सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब विजयी भएको छ । आईतबार धनकुटाको तल्लो टुडीखेलमा भएको खेलमा नमोबुद्धले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । नमोबुद्धले तीनवटै गोल पहिलो हाफमा गरेको थियो ।उसका लागि खेलको १७ औं मिनेटमा निर्मल घिसिङले गोल गरे । यसैगरी, मिस्कन दासले ३२ औं मिनेटमा नमोबुद्धका लागि दोस्रो गोल गरे भने ३९ औं मिनेटमो मोहित गुरुङले टिमका लागि तेस्रो गोल गरे । धनकुटाका लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफको १४ औं मिनेटमा टिम क्याप्टेन दिपेन शाक्यले गरे । प्रतियोगिताको औपचारिक उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायाले गरेका थिए । सोमबार ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच अपराह्न साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ । विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।