१९ पुस ,धनकुटा । कोशी प्रदेश खेलकुद विकास बोर्डले धनकुटा जिल्लाको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको छ ।
शुक्रबार धनकुटामा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) नेतृत्वको टोलीले खेलकुद संरचनाहरुको अनुगम तथा निरीक्षण गरेको हो । बस्नेत नेतृत्वको टोलीले धनकुटा टुँडिखेल, हिले कभर्ड हल, व्याडमिन्टन हल लगायतको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले जानकारी दिए । बोर्डले बोर्ड मातहतका कार्यालय तथा खेलकुद संरचनाको अभिलेखन गर्ने तयारी गरेकोमा कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको संरचनाको अनुगम तथा निरीक्षण गरिरहेको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।
यस्तै जिल्ला खेलकुद विकास समिति धनकुटाले आयोजना गरेको खेल संघ तथा संस्थाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव बस्नेतले खेलकुद बोर्डले कोशी प्रदेशका १४ जिल्लाका खेलकुद संरचना प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गरि विकास गर्न अनुगमन गरिएको बताए । कार्यक्रममा सहभागीले धनकुटाको ऐतिहासिक टुँडिखेलका संरक्षण नभएको, कबर्ड हल बनाउन स्थानीयले दिएको जग्गा बेवारिसे बनाएको, जिल्लामा हुने खेलकुद गतिबिधीमा प्रदेश खेलकुद बोर्डले सहयोग नगरेको गुनासो राख्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धनकुटामा कुनै २ विधामा छनौट चरणका प्रतियोगिता हुनुपर्ने माग गरेका थिए। प्रश्नको जवाफ दिँदै सदस्य सचिव बस्नेतले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धनकुटामा कुनै विधाको छनौट चरण गरिने प्रतिबद्धता जनाए । उनले धनकुटामा हुने हरेक खेलकुद गतिविधिहरुलाई सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।