धनकुटा । धनकुटाका बक्सिङ खेलाडीहरूका लागि करिब एक लाख मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिलकुमार राईले ५० हजार र स्थानीय युवाहरूबाट ५० हजार गरी एक लाख बराबरकाे खेल सामग्री जिल्ला बक्सिङ सङ्घलाई उपलब्ध गराइएको हो ।
धनकुटामा सोमबार कार्यक्रम आयोजना गरी पन्चिङ ब्याग, बक्सिङ ग्लोभ्स, हेड गियर लगायत सामग्री प्रदान गरिएको छ । सामग्री खरिदका लागि नगर कार्यपालिका सदस्य दिलकुमार राईले ५० हजार उपलब्ध गराएका थिए । त्यस्तै, नगरपालिकाका इन्जिनियर मिङ्मादोर्जे सेर्पा, आर्थिक विकास अधिकृत विकास अधिकारी, एमाले नेता एवं निर्माण व्यवसायी बलदीप राई, नागरिक समाजका अध्यक्ष सुन्दरवाव श्रेष्ठ, निर्माण व्यवसायी सन्तोष राई र कोरिया बस्ने सहिदभूमि–२ का सविन राईले आर्थिक सहयोग गरेका थिए । सामग्री खरिद गर्न उनीहरूले जनही ५÷५ हजार बराबरको सहयोग उपलब्ध गराएको जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विदुर खवासले जानकारी दिए ।
सामान खरिदका लागि सहयोग जुटाउन जिल्ला बक्सिङ सङ्घका सल्लाहकार संयोजक कमलदिप तिगेला, बक्सिङ सङ्घका अध्यक्ष खवास, उपाध्यक्ष हेमचन्द्र राई लगायतले भूमिका खेलेको भन्दै सहयोगी दाता र पहलकर्ताहरुलाई बक्सिङ प्रशिक्षक किशोर लिम्बू सम्बाहाम्फेले मन्तव्यमार्फत धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा धनकुटा जिल्ला बक्सिङ संघका सल्लाहकार संयोजक कमलदिप तिगेलाले बक्सिङ खेललाई स्थानीय स्तरमा प्रोत्साहन गर्न सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले दाताहरूको योगदानलाई धन्यबाद दिँदै यसले जिल्लाको खेल क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताएका छन्। जिल्ला बक्सिङ संघले आगामी दिनमा थप प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी जिल्लामा खेलकुदको स्तर उकास्न कटिबद्ध रहेको जानकारी गराएको छ। धनकुटामा हाल करिब दुई दर्जन युवायुवतीहरू बक्सिङको प्रशिक्षण लिइरहेका छन् ।
धनकुटा जिल्ला बक्सिङ संघका अध्यक्ष विदुर खवासको संयोजकत्वमा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका कार्यापालिका सदस्य दिलकुमार राई, आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी, धनकुटा जिल्ला बक्सिङ संघ धनकुटाका सल्लाहकार संयोजक कमललिप तिगेला,उद्योग बाणिज्य संघ धनकुटाका महासचिव श्रीराम रायमाझि, तरुण दलका केन्द्रिय सदस्य तिलक महत,पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष रविन कटेल,सचिव हरीबहादुर लम्जेल,सह सचिव इश्वर थापा,कोषाध्यक्ष नारायण कुमार राईस्थानीय जनप्रतिनिधि, प्रशिक्षक किश्वर कुमार लिम्बु ,खेलप्रेमी,र खेलाडीहरूको उपस्थिति रहेको थियो ।