धनकुटा । लगातारको वर्षाको कारण पहिरो जाँदा अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आएको छैन। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध बनेको हो। चौबिसे गाउँपालिकास्थित सौर्यमा सडकमा ठूलो ढुंगा खसेर अवरुद्ध बनेको सडक सञ्चालनको प्रयास भएपनि नसकिएको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो। यसअघि साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा अवरुद्ध रहेको सो सडकमा डाडाँबजारमा भने सञ्चालनमा रहेको छ। सौर्यमा सडक अबरुद्ध हुँदा गर्दा चौबिसे गाउँपालिकाका विभिन्न स्थानबाट धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन। भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमि लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेकोमा सडक अवरुद्ध बनेपछि स्थानीयलाई सास्ती भएको छ।
यस्तै निरन्तरको वर्षाका कारण नावा खोला र छरुवा खोलामा बाढी आएसँगै बिहीबार बिहानैदेखि अवरुद्ध बनेको तमोर करिडोर सडकको धनकुटा–पाँचथर भने सञ्चालनमा आएको छ। धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा र धनकुटाको चौविसे गाउँपालिका रहेको छरुवा खोलामा वर्षा रोकिएसँगै बाढी रोकिएपछि सडक सञ्चालनमा आएको हो। बाढी रोकिएपछि स्काभेटरले डाइभर्सन निर्माण गरि सडक सञ्चालनमा ल्याइएको एसपी चौधरीले जानकारी दिनुभयो।
सडक सञ्चालनमा आएसँगै बिहीबार बिहानैदेखि अलपत्र परेका सवारी साधन गन्तव्यमा लागेका छन्। तमोर करिडोरमा पर्ने नावा, छरुवा र रगुवा गरी तीनवटा खोलामा पुल बनेका छैनन्। जसले गर्दा बाढी आउँदा यात्रु र सवारीलाई सास्ती हुने गरेको छ। धरान र विराटनगरबाट पाँचथर र ताप्लेजुङ आउजाउ गर्न छोटो दूरी हुने भएकाले यात्रु र सवारीले यो सडक प्रयोग गर्दै आएका छन्।
१५ आश्विन २०८१, मंगलबार
0
Shares