धनकुटाका किसान यो बर्ष बन्दाकोपीको भाउ आकासीए पनि त्यती खुसी देखिदैनन । कीन भने यो बर्ष खुम्रे कीराले बाली विरुवाका जरा खाएर किसानलाई सताएको छ । तरकारी, अन्न र दालबालीमा यो कीरा प्रकोपकै रुपमा फैलिएको छ । तर अहिलेसम्म पनि खुम्रे नियन्त्रण गर्ने प्रविधि र जानकारी किसानका बारी पुगेको छैन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ फलैंचाका धनमाया सारु मगरले आफ्नो बारीमा खुम्रे कीराको प्रकोप फैलिएपछि खेताला लगाएरै खुम्रेकीरा टिपिरहेको बताएकी छिन । बिगतका बर्षहरुमा फाट्टफुट्ट मात्रै देखिने यो कीराले अहिले यहाँको खेती बालीमा प्रकोपको रुप लिएको छ । खुम्रे कीराको संख्या यति धेरै बृद्धि भएको छकि एकजनाले खनेर सक्ने एकदिनको मेलोमा दुइकिलो भन्दा बढि खुम्रे कीरा भेटिने गरेका छन् । उनको बारीमा गत साल ७ सय बोरा भन्दा बढी उत्पादन भएको बन्दा खुम्रे किराका कारण अहिले मुस्कीलले १०० बोरा बन्दा उत्पादन भएको छ । धनकुटाको त्रिसुले, गुराँसे, जोरपाटी र सिंधुवा लगायतका ठाउँ ताजा तरकारी उत्पादन पकेट क्षेत्र हो । तर यहाँ लगाइएको बन्दाकोपी, काउली, मूला, आलु, मकै जस्ता खेतिमा खुम्रे कीराले ८० प्रतिशतसम्म नोक्सान पु¥याएको अर्का किसान इन्द्र सारु मगरले जानकारी दिए ।
कृषि प्राविधिकहरु खुम्रे किरा खपटे किराका विभिन्न प्रजातीका लार्भा भएको बताउँछन् । खपटे कीरा रातभरी फलफूल र तरकारीका पात खाने र उज्यालो हुनासाथ माटोभीत्र लुक्ने गर्छ । माटो मुनी फूल पार्छ र लार्भाहरु निस्कन्छन् । तिनै लार्भाले माटोभीत्र बसेर विरुवाका कलिला जरा खान्छ र विरुवा ओइलाएर मर्ने हुन्छ । अहिले किसानले बारीमा काचो मल प्रयोग गर्ने गरेको कारणले पनि खुम्रे कीराको प्रकोप बढेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले बताए । बारीमा नै तरकारीको पातहरु छाड्नाले पनि खुम्रेको खानेकुरा पुग्ने हुदाँ यसको प्रकोप बढी हुने उनको तर्क छ । बाह्रै महिना चिसो हुने यी ठाउँमा पहिलेझै हिउँदमा तुषारो र हिउँ पर्न छाडेको निकै भयो । हिउँ र तुषारो नपरकै कारण कीरा हुर्कनका लागि वातावरण अनुकुल बन्दै गएको स्थानीयको बुझाइ छ ।