
- ६० किलोमिटर दूरी छोटिँदै : सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको माङ्माया डाँडासम्म निर्माण भइरहेको करिब ६५ किमि अरुण करिडोर सञ्चालनमा आएपछि अहिलेको १२५ किमिको घुमाउरो यात्रा करिब ६५ किमिमा झर्नेछ।
- निर्माणले गति लिँदैस् सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ। ४५ किमिका लागि करिब एक अर्ब रुपैयाँको ठेक्का भइसकेको छ भने धनकुटाका विभिन्न क्षेत्रमा करिब ३५ किमि ट्र्याक खोल्ने काम भइरहेको छ।
- पुल निर्माण मुख्य चुनौतीस् करिडोरमा तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल आवश्यक छन्। साँगुरीगढी–शहीदभूमि जोड्ने त्रिवेणीको तमोर पुललाई आयोजनाको महत्वपूर्ण संरचनाका रूपमा लिइएको छ।
- यातायातसँगै आर्थिक अवसरस् सडक सञ्चालनपछि भोजपुर, संखुवासभा र धनकुटाबाट तराईसम्म कृषि उपज तथा अन्य सामग्रीको ढुवानी सहज र सस्तो हुने अपेक्षा छ। यसले बजार विस्तार, पर्यटन, स्थानीय उद्यम र समग्र आर्थिक गतिविधिमा नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
विदुर खवास
२८ साउन, धनकुटा । वर्षौँदेखि पूर्वी पहाडका बासिन्दाका लागि लामो, घुमाउरो र खर्चिलो सडक यात्रा बाध्यता बन्दै आएको छ। तर अब त्यो बाध्यता क्रमशः छोटिने संकेत देखिन थालेको छ। तराईलाई भोजपुर र संखुवासभासँग सबैभन्दा छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको अरुण करिडोर सडक आयोजनाले गति लिन थालेपछि पूर्वी पहाडको यातायात नक्सा नै फेरिने अपेक्षा गरिएको छ।
सुनसरीको चतरास्थित कोशी पुलबाट धनकुटाको महालक्ष्मी नगरपालिका र पाख्रिबास नगरपालिकाको सीमा माङ्माया डाँडासम्म पुग्ने करिब ६५ किलोमिटर सडक निर्माण भइरहेको छ। यो सडक पूरा भएपछि अहिले कोशी राजमार्ग हुँदै गर्नुपर्ने लामो यात्रा छोटिनेछ भने भोजपुर र संखुवासभाको तराईसँगको सडक पहुँच थप सहज हुनेछ।

घुमाउरो यात्राको विकल्प बन्दै अरुण करिडोर
अहिले धरान–भेडेटार–मूलघाट–धनकुटा–हिले–पाख्रिबास हुँदै माङ्माया डाँडासम्म पुग्न करिब १२५ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ। अरुण करिडोर सञ्चालनमा आएपछि यही दूरी करिब ६५ किलोमिटरमा सीमित हुने आयोजनाको लक्ष्य छ। अर्थात्, करिब ६० किलोमिटर यात्रा छोटिनेछ। यात्राको दूरी मात्र होइन, यसले यातायातको समय र ढुवानी लागतमा समेत उल्लेख्य कमी ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी कृषि उपज, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा यसको प्रत्यक्ष प्रभाव पर्ने स्थानीयको विश्वास छ। यो सडक एउटा आयोजना होइन, गाउँको आर्थिक सम्भावना बदल्ने माध्यम बन्ने महालक्ष्मी नगरपालिका–२ चानुवाका स्थानीय वीरबहादुर विश्वकर्माले बताए । उनले भने “अहिले घुमाउरो बाटो भएर लामो यात्रा गर्नुपर्छ। अरुण करिडोर सञ्चालनमा आएपछि भोजपुर, संखुवासभा र धनकुटाका बासिन्दालाई ठूलो राहत पुग्छ,” उनी भन्छन्, “यातायात खर्च घटेपछि किसानले उत्पादन बजारसम्म पुर्याउन पनि सहज हुन्छ।”
तीन खण्डमा काम, ४५ किलोमिटरको ठेक्का
६५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ। करिब एक अर्ब रुपैयाँ लागतमा ४५ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। हाल धनकुटाको शहीदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकाभित्र पर्ने करिब ३५ किलोमिटर क्षेत्रमा प्रारम्भिक ट्र्याक खोल्ने काम भइरहेको छ। सडकको ट्र्याक करिब १० मिटर चौडा बनाउने योजना छ। अरुण करिडोरको केही खण्ड तमोर करिडोरसँग जोडिएर निर्माण हुने आयोजना प्रमुख मनीषमान शाक्यले जानकारी दिए । करिब २२ किलोमिटरमध्ये १० किलोमिटर सडक तमोर करिडोरसँगै जोडिएर निर्माण गर्ने योजना रहेको उनले बताए। उनले भने “पुल निर्माणका लागि आवश्यक स्थान र डिजाइन अन्तिम चरणमा पुगेपछि बाँकी सडक खण्डको कामले थप गति लिन्छ,” ।

अरुण करिडोरको सबैभन्दा महत्वपूर्ण संरचनामध्ये धनकुटाको साँगुरीगढी गाउँपालिका र शहीदभूमि गाउँपालिकालाई जोड्ने त्रिवेणीस्थित तमोर नदीमाथिको पक्की पुललाई लिइएको छ। सडक निर्माण मात्रै गरेर करिडोर पूर्णरूपमा सञ्चालनमा आउँदैन। बीचमा पर्ने नदी तथा खोलामा पुल निर्माण गर्नुपर्ने भएकाले ती संरचनाको निर्माण आयोजनाका लागि अर्को महत्वपूर्ण चुनौती रहेको शाक्यको भनाई छ । ६५ किलोमिटर सडकमा तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्नेछ। तमोर, अँधेरी, छाम्लाङ, धुसेनी, मंग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निवुखोला लगायतका स्थानमा २० देखि ४० मिटरसम्म लम्बाइका पुल निर्माण गर्ने योजना छ। तीमध्ये केही पुलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। त्रिवेणीको तमोर पुलको स्थान र डिजाइन स्वीकृत भएपछि सडक निर्माणले अझै गति लिने आयोजनाको अपेक्षा छ।
सडकसँगै खुल्ने आर्थिक सम्भावना
अरुण करिडोरको प्रभाव सडकमा गुड्ने सवारीसम्म मात्र सीमित रहने छैन। सडक सञ्चालनमा आएपछि यस क्षेत्रका किसान, व्यवसायी र स्थानीय उद्यमीले नयाँ बजार पाउने सम्भावना छ। भोजपुर र संखुवासभाबाट तराईतर्फ कृषि उत्पादन लैजान तथा तराईबाट पहाडी जिल्लामा दैनिक उपभोग्य सामग्री भित्र्याउन अहिलेभन्दा छोटो बाटो उपलब्ध हुनेछ। यसले ढुवानी लागत घटाउनुका साथै उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी धनकुटाको महालक्ष्मी र पाख्रिबास तथा भोजपुर र संखुवासभाका सडक सञ्जालसँग जोडिएका बस्तीले यसको प्रत्यक्ष लाभ लिन सक्नेछन्। सडक पहुँच सहज भएपछि स्थानीय उत्पादनको व्यावसायीकरण, पर्यटन विकास र नयाँ बजार केन्द्रको सम्भावनासमेत बढ्ने देखिन्छ।
घर–टहरा र सडक निर्माणको चुनौती
आयोजना निर्माणका क्रममा सबै कुरा सहज भने छैन। सडकको प्रस्तावित रेखामा पर्ने केही स्थानमा स्थानीयका घर तथा टहरा रहेकाले ट्र्याक खोल्ने काम प्रभावित भएको आयोजनाले जनाएको छ। यस्ता समस्या समाधान गर्न आयोजना, स्थानीय तह र प्रशासनबीच समन्वय आवश्यक देखिएको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आयोजना समयमै सम्पन्न गर्न प्रशासनले आवश्यक सहजीकरण गरिरहेको बताइन्। स्थानीय तह, आयोजना र सरोकारवालाबीच समन्वय गरी निर्माणका क्रममा देखिने अवरोध हटाउने काम भइरहेको उनको भनाई छ ।
सडक बनेपछि बदलिनेछ यात्राको भूगोल
पूर्वी पहाडको सडक विकासमा अरुण करिडोरलाई रणनीतिक महत्वको आयोजनाका रूपमा हेरिएको छ। यसको मुख्य उद्देश्य केवल एउटा नयाँ सडक निर्माण गर्नु मात्र होइन, तराई र पहाडी जिल्लाबीचको दूरी घटाउनु पनि हो। हाल १२५ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्ने ठाउँमा ६५ किलोमिटरको छोटो सडक उपलब्ध हुनु आफैँमा ठूलो परिवर्तन हुने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले बताए । स्थानीयका लागि अरुण करिडोर एउटा सडक आयोजना मात्रै होइन—समय बचत, ढुवानी खर्चमा कमी, बजारसम्म सहज पहुँच र आर्थिक गतिविधिको विस्तारसँग जोडिएको आशाको बाटो पनि हो। चुनौती भनेको निर्माणाधीन सडकलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नु हो। सडकसँगै आवश्यक पुल निर्माण, स्थानीय अवरोधको समाधान र आयोजना कार्यान्वयनमा प्रभावकारी समन्वय हुन सके अरुण करिडोरले पूर्वी पहाडको यातायात र आर्थिक गतिविधिमा दीर्घकालीन परिवर्तन ल्याउन सक्ने प्रमुख गुरुङले जानकारी दिए ।
६० किलोमिटर दूरी छोटिने यो सडकले अन्ततः पूर्वी पहाडका बस्तीलाई तराईसँग मात्र होइन, नयाँ बजार, नयाँ अवसर र नयाँ सम्भावनासँग पनि नजिक ल्याउने विस्वास स्थानीयको छ ।

