११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

Radio Khabar Palika

१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप सुरु, उद्घाटन खेलमा सलहेश विजयी



१० जेठ ,धनकुटा ।धनकुटामा आयोजित १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लब विजयी भएको छ।

सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो। ट्राइब्रेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गरे। सलहेशका रोमन भुजेलको प्रहार भने सफल हुन सकेन। राष्ट्रिय जागृति क्लबका तर्फबाट निवास फुयल, विदेशी खेलाडी केल्भीन र दोर्जे तामाङले गोल गरे। सुजन चौधरीको प्रहार बारमा लागेर फर्किएको थियो भने विदेशी खेलाडी ओलाबी ओफ्रेजको प्रहार सलहेशका गोलकिपर योगेश धिमालले उत्कृष्ट रूपमा रोकेका थिए। खेलको उत्कृष्ट खेलाडी -प्लेयर अफ द म्याच- सलहेशका रोशन पहाडी घोषित भए। उनले नगद ६ हजार रुपैयाँसहित मेडल प्राप्त गरे। आयोजक समितिका संयोजक शम्भु प्रधानका अनुसार सोमबार हुने दोस्रो खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र झापाको विर्तामोड युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ।जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ६ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

वि।सं.२०५५ सालदेखि सुरु भएको यो प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिता तत्कालीन अवस्थामा मृत्युदण्ड दिइएका तथा पछि वि.सं. २०७४ मा सरकारले सहिद घोषणा गरेका भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको छ।