१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

Radio Khabar Palika

कोशी प्रदेशमा एसइई परीक्षा व्यवस्थापन अन्तिम चरणमा, ८० हजार बढी विद्यार्थी सहभागी हुने



विदुर खवास

१६, चैत्र, धनकुटा । कोशी प्रदेश सरकारले आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।२०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसइई लाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्न व्यापक तयारी गरेको हो। परीक्षा केन्द्र व्यवस्थापनदेखि सुरक्षा, अनुगमन तथा विद्यार्थी सहजीकरणसम्मका विषयमा स्पष्ट निर्देशन जारी गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
परीक्षा केन्द्र रहेका विद्यालयहरूमा आवश्यक परे नर्सको व्यवस्था गर्ने, तथा नर्स उपलब्ध नभएमा नजिकका स्वास्थ्य संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । जिल्ला परीक्षा समन्वय समितिमार्फत केन्द्राध्यक्ष, निरीक्षक तथा सहायक कर्मचारीहरूको छनोट तथा परिचयपत्र व्यवस्थापन गरिएको निर्देशक पोखरेलले जानकारी दिए । विद्यार्थीलाई परीक्षा दिन सहज होस् भन्ने उद्देश्यले परीक्षा केन्द्र नजिकै बसोबासको व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ। परीक्षा दिन विद्यार्थीले अनिवार्य रूपमा विद्यालय पोशाकमा उपस्थित हुनुपर्ने र खुला समूहका परीक्षार्थीले फोटोसहितको परिचयपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको उनको भनाई छ । परीक्षा केन्द्रहरूको नियमित अनुगमन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित निकायको नेतृत्वमा गरिनेछ। साथै, परीक्षा अवधिभर मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।सि.सि.टिभी जडान भएका विद्यालयमा परीक्षा केन्द्र सञ्चालनलाई प्राथमिकता दिइएको छ र त्यसमार्फत समेत अनुगमन गरिने जनाइएको छ। उत्तरपुस्तिका सुरक्षा र ढुवानीका लागि आवश्यक सुरक्षा निकाय परिचालन गर्ने निर्देशक पोखरेलले जानकारी दिए ।
परीक्षा सुरु हुनु अघि सम्बन्धित कर्मचारी तथा सुरक्षाकर्मीलाई अभिमुखीकरण गरिनेछ भने परीक्षा केन्द्रमा प्राथमिक उपचार सामग्री तथा शौचालय व्यवस्थापनमा पनि ध्यान दिइने उनले जानकारी दिए । साथै, मनोसामाजिक तथा पारिवारिक परामर्श सेवासमेत आवश्यक स्थानमा उपलब्ध गराइने व्यवस्था मिलाइएको निर्देशक पोखरेले जानकारी दिए । यस वर्ष कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्रमार्फत कुल ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुने जनाइएको छ । परीक्षा सञ्चालनमा केन्द्रध्यक्ष ३ सय ३२, सहायक केन्द्र ध्यक्ष ५सय ४६ निरीक्षक ४ हजार ६३ , परिक्षक सहायक ८सय १३, सहयोगी कर्मचारी १ हजार ६ सय १५ तथा ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन कार्यालयले जनाएको छ । कार्यालयले परीक्षा शान्त, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवाला निकायलाई समन्वय र सहयोग गर्न आग्रह समेत गरेको छ।