
१३ फागुन,धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनकुटामा पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।
तालिममा निर्वाचन अवधिमा तयार गरिने समाचार सामग्रीको प्रकृति, आचारसंहिताको पालना भएनभएको अनुगमन, उम्मेदवारहरूको प्रोफाइल प्रस्तुति, घोषणापत्रको समीक्षा लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै चुनावी खर्चमा पारदर्शिता, भोजभतेर, चुनावी खर्चको स्रोत, सरकारी स्रोत–साधनको दुरुपयोग जस्ता विषयलाई समाचारमा कसरी समेट्ने भन्नेबारे सहभागी पत्रकारहरूलाई जानकारी गराइएको थियो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सम्पन्न तालिममा धनकुटाका निर्वाचन अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सञ्चारमाध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराएका थिए । उनले आचारसंहिता उल्लंघनका घटनाको नियमित अनुगमन भइरहेको र उल्लंघन भएमा कानुनी कारबाही हुने स्पष्ट पारे । त्यसैगरी, निर्वाचन आयोगले जिल्लामा गरिरहेको तयारीबारे जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारीले जानकारी गराएका थिए । उनले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले पत्रकारहरूले संयमता अपनाउँदै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। निर्वाचन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न उनले आग्रह गरे । कार्यक्रममा पत्रकारहरुले आचारसंहिता उल्लघंनका विषयमा निर्वाचन आयोगले सबैलाई सम्मान व्यबहार गर्नुपर्ने धारणा राखेका थिए ।







