
८ फागुन, धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले शुक्रबारबाट धनकुटा नगर क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र राई र समानुपातिक उम्मेद्वार मनकुमारी तितुङसहितको टोलीले धनकुटा नगरक्षेत्रमा घरदैलो थालेको हो । धनकुटाका सात पालिकामध्ये चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रीवास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदाता भेटघाट सकेर टोली धनकुटा नगरक्षेत्र प्रवेश गरेको हो । धनकुटा नगरको पहिलो दिन शुक्रबार वडा नं.१ को हिले र वडा नं.२ को भीरगाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । हिले बजारमा भएको घरदैलो कार्यक्रममा एमाले नेता कार्यकर्ताहरू सहभागि थिए । शनिवार वडा नं.३ को कागते, पात्ले, सेउले र वडा नं.४ को दानावारी क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम छ ।







