
८ फागुन , काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो पार्टी घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार आयोगले चार गतेभित्र घोषणापत्र बुझाउन आग्रह गरे पनि दलहरूबाट हालसम्म पनि घोषणापत्र बुझाउने क्रम जारी छ। उम्मेदवारहरूको हकमा भने जिल्ला तहका निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउन सक्ने व्यवस्था भएकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताइन्। सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भई प्याकिङको काम सकिएको जानकारी दिइन्। समानुपातिकतर्फ भने सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी गरिसकिएको छ। निर्वाचनका लागि छापिएका नमूना मतपत्र प्रयोग गरी आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको पनि उनले उल्लेख गरिन्।निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने प्रावधान रहेको भन्दै पुनले हालसम्म सात वटा राजनीतिक दल तथा ८ हजार ८ सय ६७ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको विवरण प्राप्त भएको बताइन्। उनका अनुसार यस साता सार्वजनिक बिदा धेरै परेकाले आगामी आइतबार र सोमबार बैंक खाता खोल्ने उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढ्न सक्ने आयोगको अनुमान छ। निर्वाचन आयोगले तयार गरेको कार्यतालिकाअनुसार नै निर्वाचन तयारीका काम अघि बढिरहेको पनि उनले स्पष्ट पारिन्।







