१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

Radio Khabar Palika

धनकुटामा निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालिम सुरु



माघ १७,धनकुटा — जिल्लामा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालिम दिन सुरु गरिएको छ। शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच तालिमको औपचारिक उद्घाटन गरिएको हो। तालिम उद्घाटन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गर्नुभयो। यद्यपि तालिम माघ १८ गतेबाट औपचारिक रूपमा सुरु गर्ने मिति तय गरिएको थियो, तर भौगोलिक रूपमा टाढा–टाढा खटिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै शनिबारदेखि नै तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। कार्यक्रममा निर्वाचन सुरक्षा प्रहरीले निर्वाह गर्नुपर्ने कामको प्रकृति, तालिम अवधि, उनीहरूले पाउने सेवासुविधा तथा अनुशासन र कारबाहीसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो। छनोट भएका उम्मेदवारलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, छिन्ताङ र राजारानी इलाका प्रहरी कार्यालय, पाख्रीवास, हिले, भेडेटारलगायतका स्थानमा १० दिनको आधारभूत तालिम दिइने जनाइएको छ। पायक पर्ने स्थानमै तालिमको व्यवस्था गरिएको र माघ २५ गतेपछि उनीहरूलाई कार्यक्षेत्रमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दीए । उनका अनुसार धनकुटामा कुल १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएका छन्।नेपाल प्रहरीसँग समन्वय गरी अति संवेदनशील मतदान स्थलमा १० जना, संवेदनशील स्थलमा ६ जना र सामान्य मतदान स्थलमा ५ जनाका दरले सुरक्षा जनशक्ति परिचालन गरिनेछ। जिल्लामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन्। तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी सामान्य श्रेणीमा रहेका छन्।यसैबीच, निर्वाचन सुरक्षा प्रहरीको बैंक खाता खोल्ने प्रक्रिया पनि सुरु गरिएकाे छ। पहिलेदेखि खाता भएका सुरक्षाकर्मीको खातामै तलब तथा सुविधा पठाइने र खाता नभएकालाई पायक पर्ने बैंकमा खाता खोल्न निर्देशन दिइएको प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए । धनकुटामा कुल १ लाख १८ हजार ४ सय २४ जना मतदाता रहेका छन्।