२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

Radio Khabar Palika

विशेष महाधिवेशनको ऊर्जा लिएर निर्वाचनमा होमिन्छौँ : करुण कटुवाल



काठमाडौँ, २७ पुस । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनमा हुने निर्वाचनमा सशक्त रूपमा होमिने बताएकी छन्। आइतबार काठमाडौँमा आयोजित कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गर्दै उनले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने स्पष्ट धारणा राखिन्। कटुवालले देश यथास्थितिमा अघि बढ्न नसक्ने अवस्था सिर्जना भएकाले राजनीतिक दलहरूमा गहिरो आत्मसमीक्षा आवश्यक भएको बताइन्। उनले विशेष महाधिवेशन पार्टीभित्र देखिएका समस्या समाधान गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यही कारण विशेष महाधिवेशन आयोजना गरिएको बताइन्।उनले भ्रष्टाचार, कुशासन र बेथितिप्रति युवापुस्तामा बढ्दो असन्तुष्टि रहेको भन्दै कांग्रेसले युवाहरूको भावना बुझेर उनीहरूलाई विश्वासमा लिनुपर्नेमा जोड दिइन्। विशेष महाधिवेशनले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने र नयाँ सोच, नीति तथा नेतृत्व विकासमा योगदान दिने विश्वास पनि उनले व्यक्त गरिन्।कटुवालले विशेष महाधिवेशनबाट प्राप्त ऊर्जा, एकता र प्रतिबद्धतासहित नेपाल विद्यार्थी संघ र कांग्रेस आगामी निर्वाचनमा जनतामाझ जाने बताउँदै युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरिन्।