१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

Radio Khabar Palika

भेडेटारमा कांग्रेसद्वारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो



धनकुटा, १६ पुस । धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी गाउँपालिका कार्यसमितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै मन्त्री मण्डलले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति आजको सन्दर्भमा झनै सान्दर्भिक रहेको बताए। उनले कांग्रेसभित्र पूर्ण एकता कायम गरेर आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य नवीन किशोर शाक्यले बीपी कोइरालाले देखाएको मार्ग अवलम्बन गरे देशले निकास पाउने विश्वास व्यक्त गरे। सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले देश र पार्टी दुवै संकटको अवस्थामा रहेको उल्लेख गर्दै बीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिबाट मात्र समाधान सम्भव हुने बताए। क्षेत्रीय सभापति तथा सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरे मात्र मुलुकले निकास पाउने धारणा राखे।

नेपाली कांग्रेस सागुरीगढी गाउँपालिकाका सभापति नेपालधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महाधिवेशन प्रतिनिधि युवा नेता हर्कमान चेम्जोग, जिल्ला सदस्य तथा वडा नं। ६ का वडाध्यक्ष दीपक मगर, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य भिषण राई, नेपाल प्रेस युनियन कोशी प्रदेशका कोषाध्यक्ष कविराज घिमिरे, नेपाली कांग्रेस क क्षेत्रीय उपसभापति नगेन्द्र राई, पूर्व जिल्ला सदस्य विष्णु राई लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पार्टीभित्र पूर्ण एकता कायम गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरेका थिए।