९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

Radio Khabar Palika

भेडेटारमा १३औँ खाना महोत्सव हुँदै, पुस १६ देखि १८ गतेसम्म आयोजना हुने



पुस ९ धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पर्यटकीय क्षेत्र भेडेटारमा १३औँ खाना महोत्सव फुड फेस्टिभल आयोजना हुने भएको छ। होटल एसोसिएसन भेडेटारले आज पत्रकार सम्मेलन गर्दै पुस १६ देखि १८ गतेसम्म तीन दिनसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरू प्रस्तुत गरिनेछन्। साथै खाद्यान्न, नगदे तथा औद्योगिक बाली, फलफूल, तरकारी, आलु बाली लगायत स्थानीय कृषि उत्पादनका स्टलहरू समेत राखिने आयोजकले जनाएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले खाना महोत्सव आयोजना गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए। महोत्सव अवधिभर भेडेटारका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका लागि पर्यटकहरूलाई विशेष व्यवस्था गरिने उनले बताए । भेडेटारमा तराईका विभिन्न जिल्लासँगै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। यसपटकको खाना महोत्सवबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। भेडेटार क्षेत्रभित्र स्काइ वाक, पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्मा घर, जनजाति पार्क थुम्की, सिम्सुवा झरना, साँगुरीगढी होमस्टे, ओख्रे भ्यू टावर, ध्वजे डाँडा लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू रहेका छन्, जसले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।