
धनकुटा, ८ पुस । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले लागुऔषध नियन्त्रण प्रहरीको मात्र प्रयासले सम्भव नहुने बताएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समुदाय, स्थानीय तह र सरोकारवाला सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
डिआइजी घिमिरेले जेनजी आन्दोलनपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीको प्रमुख कर्तव्य भएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षामा प्रहरी केन्द्रित भएको जानकारी दिए। निर्वाचनमा जनताको निर्भीक सहभागिता सुनिश्चित गर्न शान्त वातावरण अपरिहार्य रहेको उनको भनाइ छ।
उनले ट्राफिक दुर्घटना न्यूनीकरण, लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रण र साइबर अपराध नियन्त्रणका लागि विशेष योजना कार्यान्वयनमा रहेको बताए। जेनजी आन्दोलनका क्रममा काठमाडौंपछि कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको तथ्य उनले सार्वजनिक गरे।
धनकुटामा हुने गाँजा खेती विस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउँदै घिमिरेले दुर्व्यसनीलाई सुधार केन्द्र पठाउन मातहतका प्रहरीलाई निर्देशन दिएको बताए। ट्राफिक व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले २६ जना ट्राफिक दरबन्दीले मात्रै व्यवस्थापन कठिन हुने बताए।
कार्यक्रममा सहभागीले लागुऔषध नियन्त्रण, टाइम कार्ड प्रभावकारी कार्यान्वयन, कोशी राजमार्गमा भारवहन, धर्मकाँटा व्यवस्था, प्रहरीको जग्गा सदुपयोग तथा अखाद्य वस्तु नियन्त्रणको माग राखेका थिए।






