
धनकुटा, ९ मंसिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले उपचार सेवा थप विस्तार गरी प्रभावकारी रूपमा सञ्चालन गर्न थालेपछि जिल्लामा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको छ । आधुनिक जीवनशैली र एलोपेथी उपचारको प्रभावका कारण ओझेलमा पर्दै गएको आयुर्वेद पद्धतिलाई नयाँ प्रविधि र विस्तारित सेवामार्फत पुनः जनस्तरमा लोकप्रिय बनाउन केन्द्र सफल बन्दै गएको छ ।
केन्द्रमा ओपिडी सेवा, प्रयोगशाला परीक्षण, निःशुल्क औषधि वितरण, योग, पूर्वकर्म तथा पञ्चकर्म उपचार, र सशुल्क फार्मेसी सेवा सञ्चालनमा छन् । आर्थिक वर्ष २०८०/०८१ मा ६,७७४ जनालाई सेवा प्रदान गरिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७,७३० जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन्, केन्द्र प्रमुख डा. विद्या श्रेष्ठले जानकारी दिइन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गत सहिदभूमि गाउँपालिकाको छिन्ताङ औषधालय, पाख्रिवासको नागरिक आरोग्य सेवा केन्द्र, महालक्ष्मी नगरपालिका र चौबीसे गाउँपालिकाका आरोग्य सेवा केन्द्रहरूबाट समेत सेवा विस्तार भइरहेको छ । यहाँ पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, मानसिक रोग, छालाका रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरीलगायतको उपचार हुँदै आएको छ ।

केन्द्रबाट २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिँदै आएको छ भने सुलभ मूल्यमा सशुल्क फार्मेसी सेवासमेत सुरु गरिएको छ । ज्येष्ठ नागरिकका लागि अश्वगन्धा र आमलकी चूर्ण तथा सुत्केरी आमाका लागि सतावरी चूर्ण र दशमूल तेल वितरण हुँदै आएको छ ।
शिरोधारा, योग र ध्यान विधिबाट माइग्रेन, अनिद्रा, मानसिक थकान र डिप्रेसनजस्ता समस्यामा राम्रो प्रभाव देखिएको भन्दै सेवा लिन आउनेको संख्या बढ्दो क्रममा रहेको डा. श्रेष्ठले बताउनुभयो । यही कारण धनकुटामा आयुर्वेद उपचार पद्धति अझ प्रभावकारी र लोकप्रिय बन्दै गएको छ ।





