११ कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025

Radio Khabar Palika

नेकपा एमालेले देशव्यापी जनप्रदर्शन सुरु गर्ने, त्यसको सुरुवात १५ गते धनकुटाबाट हुने



१० कार्तिक, धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले अहिलेको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको समितिलाई आफूहरूले स्वीकार गर्न नसकिने बताएका छन । शनिबार धनकुटामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ।उनले भने“गौरीबहादुर कार्कीको छवि विवादित छ, उनको नेतृत्वमा रहेको समितिले निष्पक्ष छानबिन गर्न सक्दैन। सबैले स्वीकार गर्न सक्ने समिति बने मात्र एमालेले त्यसलाई मान्यता दिनेछ।” मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चुनावको वातावरण बनाउन नसकेको दाबी गरे । उनले “पुलिसको गोलीगठ्ठा र हतियार खोसिएका छन्, बर्दी खोसिएका छन्, ती अहिलेसम्म फिर्ता भएका छैनन्। यस्तो अवस्थामा कसरी शान्ति–सुरक्षाको व्यवस्था र चुनाव सम्भव हुन्छ ?” उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले चुनाव हुन नसक्ने दाबी गरे।


“प्रहरीका कार्यालय जलेका छन्, सवारीसाधन जलेका छन्। के प्रहरीले साइकल र घोडामा चढेर शान्ति–सुरक्षा दिन सक्छ? ” — कार्कीले प्रश्न गरे । एमाले चुनावदेखि नभाग्ने बताउँदै उनले भने “संविधानलाई बाइपास गरेर बनेको सरकारले चुनाव गर्न सक्दैन। अब संसद पुनर्स्थापना गरेर सबै पक्षलाई समेटेर मात्र नयाँ सरकार गठन गरी चुनावमा जानुपर्छ।”उनलेआन्दोलनमार्फत साम्राज्यवादी शक्तिहरू सलबलाउन थालेको र तिनको उपस्थिती नेपालमा देखाउन खोजिएको टिप्पणी गरे।“‘जेन्जी आन्दोलन’ को नाममा कतिपय तत्वहरूले विद्रोह र विदंश मच्चाउन खोजिरहेका छन्, ती बिस्तारै सार्वजनिक हुँदै जानेछन् र उनीहरूको वास्तविक उद्देश्य पनि जनताले बुझ्नेछन्,” — मुख्यमन्त्री कार्कीले भने। उनले नेकपा एमालेले अब देशव्यापी जनप्रदर्शन सुरु गर्ने जानकारी दिदै भने,“१५ गते धनकुटाबाट यसको भव्य सुरुवात हुनेछ। त्यसको माध्यमबाट जनदबाब सिर्जना गरिनेछ।”कार्यक्रममा नेकपा एमालेका नेता राजेन्द्र राई ले पनि सम्बोधन गरेका थिए। सो भेलाको अध्यक्षता एमाले धनकुटाका अध्यक्ष शिव आङ्ग्लो ले गरेका थिए।