
१३ साउन २०८२,धनकुटा । नाग पञ्चमीको अवसरमा धनकुटाको हिले स्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटा सहित तेह्रथुम भोजपुर लगायत विभिन्न जिल्लाका ८ हजार भन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

नाग पञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुने गर्दछ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरे सुखशान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय दामोदर घिमिरेले जानकारी दिए ।

मन्दिरमा नाग बाहेक एक सय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नाग सहित विभिन्न आकृति देख्न सकिन्छ । त्यस्तै बक्रकुण्ड मन्दिरमा नागपञ्चमीको दिन विशेष पूजाआजा र कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङ्वाले जानकारी दिए ।

मन्दिरको १५ औ स्थापना दिवस तथा नाग पञ्चमीको अवसरमा विशेष पूजाआजा गरिएको हो । वि.सं २०६७ सालमा नाग पञ्चमीकै दिन सो स्थानका पत्थरमा नाग देवता देखिए पछि मन्दिर स्थापना गरिएको थियो । नाग पञ्चमी बाहेक शिवरात्रिमा यो मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ ।
