६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

Radio Khabar Palika

भाका नाघेका ऋण असुल गरी बचतकर्ताको रकम फिर्ता गर्न धनकुटाका सहकारी संस्थालाई निर्देशन



३१ असार धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरूलाई भाका नाघेका ऋण असुल गरी बचतकर्ताहरूको रकम फिर्ता गर्न निर्देशन दिएको छ। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै समयमा ऋण असुल नहुँदा सहकारीमा समस्या देखिएको भन्दै यस्तो निर्देशन दिएको हो।

धनकुटा नगर कार्यपालिकाको असार २७ गतेको निर्णयअनुसार नगरपालिकाले पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्दै सहकारी संस्थाहरूलाई ६ बुँदे निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । नगरपालिकाले जारी गरेको सूचनामा ऋण असुलीका लागि सहकारी संस्थाले सञ्चालक समितिका पदाधिकारीहरूबाट विशेष समिति गठन गरी कार्ययोजना बनाउन भनिएको छ।सम्झौताअनुसार ऋण नतिर्ने ऋणी सदस्यहरूलाई ३५ दिनको समय तोकेर साँवा र ब्याज चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गर्न पनि सहकारीहरूलाई नगरपालिकाले निर्देशन दिएको छ। नगरपालिकाले ऋण नबुझाए धितो लिलाम बिक्रीका लागि प्रक्रिया अगाडि बढाउन र कालोसूची तयार पारेर सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ।उक्त कार्य नगर्ने सहकारी संस्थाहरूलाई नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ७९ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।