३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

‘एकै छिमलमा साडे १३ लाखको च्याउ फलाए’

‘बैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेतीमा लागे दाहाल’‘एकै छिमलमा साडे १३ लाखको च्याउ फलाए’

‘बैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेतीमा लागे दाहाल’



सन्तवीर लामा

पृष्ठभूमि ः

दुई वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा पैसा कमाउन मलेशिया पुगेका धनकुटा नगरपालिका वडा नं.१० डुम्रेसान्नेका बिनेश दाहाल हिजोआज च्याउ खेतीमा लागेका छन् । उनी ०७९ सालमा वैदेशिक रोजगारीको लागि मेलेशिया पुगेका थिए । मलेशियामा उनी १४ महिनासम्म बसे । मलेशियामा बस्दा उदयपुर रामपुरका किरण आचार्य र विदुर दाहाललाई भेटे । उनीहरुसंग त्याहाँ बस्दा च्याउ खेतीको बारेमा राम्रोसंग वुझ्न पाए । रामपुरका किरण र विदुरले च्याउ खेती गर्ने तरिकाको बारेमा राम्रोसंग उनीलाई त्यो बेला सिकाई दिए । मलेशियामा बस्दा उनी ‘माई ब्रस, माई टिथ कम्पनि’ मा काम गर्थे । त्यहाँ भने जस्तो आम्दामी नभएपछि उनी नेपाल फर्किए । यो भन्दा पहिले पनि उनी ९ वर्षसम्म मलेशियामा नै रोजगारीको शिलशिलामा बसेका थिए । तर,पछिल्लो पटक भने घरबाट ऋण गरेर काडेर गएको पैसा छिनाएर किरण र विदुरको च्याउ खेती गर्ने पे्ररणाले उनी ०८० साल मंसिरमा नेपाल फर्किएका थिए । नेपाल आए लगत्तै उदयपुरको रामपुरमा गए । रामपुरमा विदुर र किरणको घरमा भइरहेको च्याउ खेती गर्ने तरिका राम्रोसंग सिके । त्यसपछि ०८० साल पुष देखि च्याउ खेती गर्ने टनेलहरु बनाएर फागुण देखि व्यवसायिक रुपमा च्याउ खेतीमा लागेका हुन् ।
लक्ष्य÷उदेश्य ः आर्थिक उपार्जनको लागि विदेश जान नपरोस भन्ने उदेश्य राखेर बिनेशले च्याउ उद्योग खोलेका हुन् । उद्योग खोलिसकेपछि आफूलाई मात्र नभएर अरुलाई पनि रोजगारी उन्मुख होस भनेर व्यवसायिक च्याउ खेतीमा उनी लागेका हुन् । उनी भन्छन्–‘जुनसुकै उद्योग व्यवसाय गर्दा एक्लै सम्भव हुँदैन, आफू र अन्य साथीभाईलाई पनि रोजगारी दिने लक्ष्य र उदेश्यका साथ यो व्यवसायमा लागेको छु ।’ डिवि एग्रीकल्चर फार्मलाई प्रदेश भरीकै राम्रो च्याउ उत्पादन गर्ने फार्मको रुपमा स्थापित गरेर धनकुाटमा नाम र दाम कमाउने उनको लक्ष्य रहेको छ ।
शुरुवाती संघर्ष ः च्याउ खेतीको बारेमा शुरुमा बिनेशलाई केहि जानकारी थिएन । रोजगारीको शिलशिलामा प्रभासी भूमि मलेशियामा रहँदा सुनेको भरमा च्याउ खेती गर्ने भनेर उनी हौसिए । उनले नेपाल फर्किर च्याउ खेती त गर्ने सोंच बनाए तर, पुँजी थिएन । आर्थिक अवस्था ज्यादै कमजोर थियो । कोरोना पछि आर्थिक मन्दि भयो, मलेशियामा १४ महिना काम गरेर घर फर्किदा एक पैसा बचाउन सकेन्न ।
उनले घर फर्किएपछि शुरुमा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङसंग च्याउ खेती गर्नको लागि सहयोग मागे । नगर प्रमुख तामाङले पनि यूवा उद्यमीले केहि गर्छु भनेर सहयोग माग्न आएपछि च्याउ खेतीको लागि पराल काट्न आवश्यक पर्ने च्यापकर खरिद गरी दिए । त्यसैगरी फवार्ड लघुवित्त धनकुटाबाट ३ लाख रुपयाँ, ऋण लिएर च्याउ खेतीलाई आवशयक पर्ने पूर्वाधारहरु निर्माण गरे । त्यसको अलभा देश विदेशमा रहेका साथीभाई समेत आर्थिक सहयोग मागेर ९ लाख, ७५ हजार लगानी गरेर बिनेशले च्याउ खेतीको फार्म शुरु गरे ।
च्याउ खेतीको लागि शुरुमा प्राविधिक सहयोग भने इटहरी स्थित् कान्छी चोकमा घर भएका श्याम कार्की र अमर कार्कीलाई बोलाएर सहयोग मागे । श्यामले अहिले पनि नियमित रुपमा उद्योगमा काम गरिरहेका छन् । उनले प्रति बल (च्याउ उत्पादन गर्न तयार पारिएको परालको पोको) बनाए बापत रु.१२।– रुपयाँ लिने गरेका छन् । कार्कीले च्याउ उत्पादनको लागि परालको बल बनाएर टनेल भित्र सेट गरे बापत १२ रुपयाँको दरले परिश्रमकि लिने गरेका हुन् । यसरी बिनेशले व्यवसायीय रुपमा च्याउ खेती गर्न थाले । उनले पहिलो एक छिमल च्याउ उत्पादन गरेर बजारमा उपभोक्ता माँझ पु¥याएर आम्दामी समेत गरि सकेका छन् ।
ओगटिएको क्षेत्रफल र संस्थाले पु¥याएको योगदान ः डि.वि.एग्रीकल्चर फार्म धनकुटा नगरपालिका वडा नं.१० डुम्रे सान्नेमा रहेको छ । उद्योग धरान–धनकुटा सडक खण्डको पात्लेखोला देखी करिव साडे तिन किलोमिटर टाढा दुरीमा पर्दछ । स्थानिय विद्यानाथ सुवेदीको नाममा रहेको ९ रोपनी १० आना जग्गा मध्ये ४ रोपनी क्षेत्रफलमा च्याउको उद्योग स्थापना गरिएको छ । बाँकी जग्गा पनि विनेशले आफै लिएका छन् । च्याउ खेतीको लागि उपयुक्त वातवरण भएको जग्गा भेटिएकाले सुवेदीको जग्गा बार्षिक २५ हजार रुपयाँ तिर्ने गरी बिनेशले लिजमा लिएका हुन् ।
आफ्नै गाउँमा च्याउ खेतीको उद्योग स्थापना गरेर सब्जीको अफ सिजनको बेलामा च्याउलाई साकाहारी तरकारीको रुपमा घरघरमा उपलब्ध गराउदा संस्थाले समुदायमा योगदान गरेको पाइएको छ । दोश्रो कुरा गाउँमा उत्पादन भएको अर्गानिक च्याउ तरकारीको रुपमा उपभोक्तालाई उपलव्ध गराउन बिनेसले सकेको छन् । च्याउ विशेष गरेर साकाहारी भोजन लिने उपभोक्ताहरुको लागि स्वस्थ्यकर तरकारीको रुपमा लिन सकिन्छ ।
धनकुटा मै अर्गानिक च्याउ उत्पादन हुन थाले पछि धनकुटेली उपभोक्ताहरुले तराईका जिल्लाहरुबाट आउने महँगो मुल्यको च्याउ किनेर खानु पर्ने वाध्यता थोरै भएपनि टरेको छ । अर्गानिक च्याउ गाउँमै उत्पादन गरेर थोरै भएपनि उपभोक्तालाई राहात दिएकाले संस्थागत रुपमा योगदान गरेको पाइएको छ । बिदेश गएर फर्किएका एक जना यूवाले आँखै अगाडी लाखौं रुपयाँ लगानी गरेर च्याउ उद्योगमा २–४ जनालाई रोजगारी दिएका छन् । सीप र जाँगर चलाउँदा आफ्नै गाउँँमा केही हुने रहेछ भन्ने गतिलो उदाहरण रुपमा गाउँलेहरुले शिक्षा पाएका छन् ।
कार्यक्षेत्र ः बजारको अवस्था, माग र उत्पादन ः
बि.डि. एग्रिकल्चर उद्योग स्थापना गरेर उनले एक पटक मात्र च्याउ उत्पादन गरेका छन् । उद्योगले उत्पादन गरेको च्याउको मुख्य बजार भनेको जिल्ला सदरमुकाम धनकुटा बजार, हिले, पाख्रीवास, सिधुवा बसन्तपुर खाँदवारीसम्म रहेको छ । त्यसका अलभा कोशी पहाडी जिल्लाहरुको मुख्य–मुख्य बजारहरु भोजपुर, तेह्रथुमको म्याङ्गलुङ्ग बजारसम्म पनि च्याउको उपभोक्ताहरु प्रशस्तै रहेका छन् । बिनेशको चारपाङ्गग्रे गाडी नभएकाले मोटरसाईकल वा ट्याम्पो मार्फत आफूले उत्पादन गरेको च्याउ बजारमा उपभोक्तासम्म ढुवानी गर्ने गरेका छन् ।
उनले च्याउ प्रति केजी १ सय, ७० रुपयाँले विक्रि गर्ने गरेका छन् । पहिलो पटक तिन हजार बल (पोका) च्याउ लगाएर व्यवसाय थालेका हुन् । तिन हजार बल लगाउँदा दिनको ४ सय केजीसम्म उत्पादन गर्न सफल भएका छन् । च्याउ उत्पादन गरेर बजारमा विक्रि गर्न लाँदा बिनेशले उपभोक्ताहरुको माग राम्रै भएको पाए । ‘उद्योगमा उत्पादन भएको च्याउ बिक्दैन कि भन्नै नपर्ने रहेछ’–उनलाई लाग्यो । एक छिमलमा ३ हजार पोका (बल) मा ८ हजार केजीसम्म उत्पादन भएको उनले पाए । प्रति पोका न्यूनतम २ किलो ६ सय ग्रामसम्म उत्पादन हुने गरेको छ ।
उनको अनुभवमा दैनिक ४ सय केजी च्याउ धनकुटाको बजारमै खपत हुन्छ । त्यो भन्दा वढी उत्पादन भयो भने धनकुटा बाहिरका बजारमा लानु पर्ने हुन्छ । धनकुटामा च्याउको माग अत्याधिक वढी छ । अहिले विनेशको उद्योगमा तरकारी खान लायक तयारी च्याउ छैन । दिनमा च्याउको लागि १५ देखि २० जनाको फोन बिनेशलाई आउँने गरेको छ । च्याउ निस्क्यो कि निस्किएन भनेर फोन गर्नेहरु धेरै छन् । च्याउ उत्पादन भै सकेपछि बजारसम्म लानको लागि यातयातको साधन उनीसंग अभाव रहेको छ ।
भाडामा यातयातको साधन लाँदा ढुवानी महँगो हुने भएकोले च्याउको विक्रि मूल्य वढी पर्ने गरेको छ । उनलाई साझेदारी वा अनुदानमा ढुवानी गर्ने गाडी खरिद गर्न आवश्यक देखिन्छ । उद्योगमा पुग्नको लागि धरान धनकुटा सडक पात्ले खोला देखि साडे तिन किलोमिटर बाटो कच्चि रहेको छ । उत्पादित च्याउ ट्याम्पोको साहाराले बजारिकण गर्दा महँगो हुने गरेको छ ।
यस पटक पनि तिन हजार बल च्याउ उत्पादनको लागि लगाई सकेका छन् । अहिले च्याउ उत्पादनको लागि पोका राख्ने गोठ ३ वटा मात्र छन् । तिन वटामा करिव ३ हजार पोका भन्दा वढी अट्दैन । अहिलेको बल पहिलेको भन्दा ठूला छन् । यस पटक सायद प्रति बल २ केजी ६ सय ग्राम भन्दा वढी नै फल्न सक्छ ।
लगानी नीति ः पुँजी, वैैकको ऋण, अनुदान वा निजि ः
वि.डि. एग्रीकल्चर उद्योगमा शुरुमा विनेशले भौतिक संरचनाहरु टनेल बनाउँदा देखि अन्य आवश्यक च्याउखेतीको शुरुवाती व्यवस्थापन गर्दा ९ लाख, ७५ हजार लगानी गरेका छन् । उनले भने–‘मसंग पैसा नभएपनि हिम्मत थियो, जसरी भए पनि च्याउ खेती सफल पारेरै छाड्छु ।’ त्यसैले ऋणसंग नडराई च्याउ खेती शुरु गरे । शुरुमा धनकुटा स्थित् फर्वाड लघुवित्त वित्तिय संस्थावाट २ लाख रुपयाँ र अन्य लगानीमा धनकुटा नगरपालिकाको सहयोगमा पराल काट्ने मेसिन (च्याप्कटर) ३६ हजारमा अनुदान लिए भने अन्य साथी भाईहरुबाट सरसापट गरेर लगानी गरें । अहिले उनको उद्योगको नाममा वैंकमा ऋण छैन ।
नगरपालिकाको अनुदान २८ हजार, ८ सय र २० प्रतिसत आफ्नो नीजि लगानी रु.७ हजार, २ सय गरी जम्मा ३६ हजारमा च्यापकटर उनले खरिद गरे । उनको आफ्नो नाममा जग्गा भने तिन रोपनी मात्र रहेको थियो । अहिले उनको परिवारमा श्रमिती उमा दाहाल सहित २ जना मात्र छन् । उनी ४ दाजुभाई मध्येका साहिंला भाई हुन् । आमा–बुवा भने माहिला दाजुसंग छुट्टै बस्ने गरेका छन् । उनले स्थानिय विद्यानाथ सुवेदीको नाममा रहेको ९ रोपनी १० आना जग्गा लिजमा लिएर ४ रोपनी क्षेत्रफलमा च्याउ खेतीको उद्योग स्थापना गरेका हुन् ।
रोजगारी सृजनाको अवस्था ः
उनले च्याउ खेतीको लागि उद्योग स्थापना गर्ने क्रममा ०८० मंसिर ११ गते देखि करिव चैत्रसम्ममा ७ जना स्थानियलाई नियमित रोजगारी दिएका थिए । उनले दैनिक हाजिरामा काम गर्नेलाई ८ सयको दरले परिश्रमिक दिए । स्थायी रुपमा काम गर्ने १ जना महेश नेपाललाई भने खाना, बस्न दिएर मासिक १० हजार दिने गरेका छन् । अर्का एटहरी कान्छी चोकका श्याम कार्कीलाई भने प्रति बल (पोका) को १२ रुपयाँको दरले ठेक्कामा दिने गरेका छन् ।
उद्योगमा दैनिक जसो बिनेश आफै काम गर्छन भने श्रीमती उमा दाहालले पनि सघाउने गरेका छन् । कामको चाप हेरी अन्यलाई पनि आवश्यक पर्दा यसरी नै दैनिक च्याउ उद्योगमा ४ देखि ६ जनाको लागि रोजगारी मिलेको छ । च्याउ खेतीलाई नियमित रेखदेख गर्न, पानी लगाउन, छिप्पिए पछि टिपेर बजारसम्म लानु पर्ने हुन्छ । त्यसैले च्याउ उद्योगमा कामको चाप हेरी नियमित कामदारहरुले रोजगारी पाईरहेका छन् ।
बार्षिक कारोवार ः आम्दामी, खर्च र वचत
बिनेशले आफ्नो च्याउ उद्योगमा शुरुमा आवश्यक संरचना बनाउनको लागि धेरै लगानी गरे । पहिलो पटक उत्पादन गरेको च्याउको आम्दामीबाट खर्च कटाउँदा शुरुमा ९ लाख ७५ हजार लगानी गरे । तर, अब दोश्रो पटक भने त्यति धेरै लगानी गर्नु पर्दैन । दोश्रो पटक देखी च्याउ खेतीमा लगानी गर्दा ४ भागको १ भाग मात्र हुन आउँछ, तिन भाग मुनाफा हुन्छ । किनभने संरचनाहरु पहिले नै तयार भएकोले लगानी कम हुँदा च्याउ खेतीमा फाईदा हुन्छ ।
सामान्यतया एक वर्षमा च्याउ तिन छिमल निकाल्न सकिन्छ । यस पटक १३ लाख, ५० हजारको विक्रि गर्दा ९ लाख, ७५ हजार त लगानी नै थियो । उनको यस पटक ३ लाख, २५ हजार मात्र आम्दामी भयो । साथमा च्याउको विउ, पराल, तलब भत्ता र दाउरामा बार्षिक ४ देखि ५ लाख रुपयाँ खर्च हुन्छ । समर्गमा १३ लाख,५ ० हजार आम्दानी हुँदा ४ देखी ५ लाख खर्च भएको देखिन्छ । उनले हरेक तिन महिनामा ६ देखी ७ लाख रुपयाँ आम्दामी गर्न सकिने अनुमान गरेका छन् ।
बार्षिक २१ लाख बराबरको आम्दामी हुने उनको दावी छ । उनी भन्छन्–‘खर्च कटाएर वार्षिक १४ देखी १५ लाख रुपयाँ आम्दामी हुन सक्छ ।’ पहिलो चरणमा भएर पनि हो, भौतिक संरचनामा खर्च धेरै भयो, समग्रमा बार्षिक २१ लाख वरावरको कारोवार गरिरहँदा यातयातको कारण ७ देखी ८ लाखसम्म खर्च हुन सक्छ । धरान धनकुटाको मुख्य राजमार्ग पात्ले खोला देखी च्याउ उद्योगसम्म आउने बाटो कच्चि भएकोले ढूवानीमा खर्च वढ्न सक्छ । अझ् यातयातको लागि सवारी साधनको व्यवस्था गर्न सके भने तिन हजार भन्दा वढी बल लगाउन सकिन्छ । त्यसो गर्दा वार्षिक कारेवार, आम्दामी र खर्च पनि वढ्न सक्छ । अहिले च्याउको लागि ३ हजार बल लगाउँदा ४ जना कामदारले रोजगारी पाउँछन भने ९ हजार बल लगाउँदा १२ जनाले थप रोजगारी पाउँनेछन् । जस्का लागि टनेल वढी निर्माण गर्नु पर्ने हुन्छ ।
व्यापार व्यवसायले पारेको प्रभाव ः व्याक्तिगत÷सामाजिक ः
बिनेशलाई च्याउ उद्योग संचालन गरे यता अहिलेसम्म कसैले पनि केही भनेका छैनन् । गाउँमै च्याउ उत्पादन हुन थाल्यो, सवैले खान पाउने भए । गाउँलेले पनि च्याउ उद्योगमा रोजगारी पाएका छन् भन्ने सकरात्मक प्रभाव सामाजिक हिसाबमा परेको देखिन्छ । वातवरणिय हिसावले च्याउ खेती वा उद्योगले कुनै किसिमको प्रदुषण गरेको छैन । स्थानियलाई च्याउको तरकारी खान मन पर्यो भने किन्न बजार जानु परेको छैन । गाउँमै सुफत मुल्यमा पाएका छन् । समुदायमा च्याउ खेतीले सकरात्मक सामाजिक प्रभाव पारेको छ ।
व्यक्तिगत हिसावले त झन् च्याउ खेतीबाट बिनेशलाई सकरात्मक प्रभाव परेको छ । किनभने उद्योगमा ३–४ जनालाई रोजगारी दिन सकेका छन् । उनलाई पनि आम्दामी भएको छ । स्थानिय आफ्ना छरछिमेकी साथीभाइहरुलाई उद्यमशिल बन्ने मौका मिलेको छ । च्याउखेतीमा लागेपछि गाउँमा कोही कसैलाई घाटा भएको छैन । विनेशले गाउँमै च्याउ उद्योग खोलेर अरुलाई पनि सहयोग गर्न पाएका छन् । आफूले पनि निरन्तर आम्दामीको स्रोत बनाउन सकिएकाले च्याउ खेतीबाट सन्तुष्टि मिलेको छ ।
नगरपालिकाको लगानीको अवस्था र भूमिका ः
च्याउ उद्योगलाई व्यवस्थित् ढंगले संचालन गर्नको लागि बिनेशले धनकुटा नगरपालिकासंग ठूलो आँट भरोषा राखेका छन् । आर्थिक वर्ष ०८०÷०८१ मा धनकुटा नगरपालिकाले ३६ हजार वरावरको पराल काट्ने मेसिन (च्यापकटर) सहयोग गरेको उनले बताए । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले लागत साझेदारीमा २८ हजार, ८ सय र आफ्नो नीजि लगानी ७ हजार,२ सय सहित ३६ हजार अनुदान सहयोग गरिदिएका हुन् । नगर प्रमुख तामाङलाई धनकुटा नगरपालिका वडा नं.–६ र १० को सिमनामा पर्ने पात्ले खोला देखी डुम्रेसान्नेसम्म आवत जावत गर्ने मोटर बाटोलाई स्तरउन्नति गरि दिन बिनेशले अनुरोध समेत गरेका छन् ।
तत्कालिन जिल्ला विकास समिति धनकुटाले ०६४÷०६५ सालमा निर्माण गरेको पात्लेखोला देखी डुम्रे सान्नेसम्मको मोटरवाटोलाई पुनः नगरपालिकाले स्तरउन्नती गरि दिए हुन्थ्यो भन्नेछ । त्यसो भयो भने गाउँमा उत्पादन भएका च्याउ मात्र नभएर अन्य किसानका कृषि उपजका वस्तुहरु ढुवानी गरेर बजारसम्म पु¥याउन सहज हुने थियो । समग्रमा गाउँमा उत्पादन भएका कृषि उपजका वस्तुहरुलाई बजारिकण गर्न यातयातका साधनहरु सहज ढंगले आवतजावत हुन्थे ।
नगर प्रमुख तामाङले आर्थिक समृद्धिको लागि उद्यमशिल यूवाहरुलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने वताए । जस्का लागि यूवाहरुमा जोस, जाँगर र सीप हुनु प¥यो लागत साझेदारीमा कार्यक्रमहरु कार्यान्वयन गर्न सकिन्छ । उत्पादित च्याउ ढुवानीको लागि गाडी चाहिएको हो भने लागत साझेदारीमा खरिद गर्नको लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख तामाङले बताए । तामाङले आफ्नै पहलमा आ.व.०८०÷०८१ मा लागत साझेदारीमा च्याउको लागि आवश्यक पर्ने पराल काट्ने मेसिन खरिद गरी सहयोग गरेको बताएका छन् । आगामी दिनमा पनि पात्ले खोला चोक देखि डुम्रेसान्नेसम्म जाने मोटरवाटोको स्तर उन्नती लगायत अन्य अत्यावश्यक काममा सहयोग गर्न नगरपालिका तयार रहेको प्रमुख तामाङले बताएका छन् ।
भावी योजना ः
च्याउ उद्योग अहिले शुरुवाती चरणमा रहेको छ । बिनेशले भने–‘अहिलेको जस्तै सफलता मिल्दै गयो भने ३ हजार बल देखि च्याउ खेतीलाई १५ हजार बलसम्म पु¥याउने लक्ष्य लिएको छु ।’ अहिले उनले १४–२६ को एल्डी प्लाष्टिकमा बल बनाउँदा प्रति बल २ केजी ६ सय ग्रामसम्म च्याउ उत्पादन हुने गरेको छ । यस्लाई तापक्रम, हावापानी, मिलाउन सकियो भने अझ् वढी उत्पादन हुन सक्छ । च्याउ खेतीको व्यवासयिक उत्पादन धनकुटाको लागि नितान्त नयाँ र नौलो विषय भएकाले थप लगानी बढाएर व्यवस्थित् ढंगले अघि बढाउने भावी योजना छ । त्यसो भयो भने आफ्नै देशमा धेरै जनालाई रोजगारीको अवसर पाउँछन र अर्काको देशमा दुःख गर्न जानु पदैन भन्ने बिनेशको ठम्याई छ ।
चुनौती ः च्याउ उद्योगलाई त्यस्तो ठूलो चुनौती त खास्सै छैन । मुख्य गरी जुनसुकै उद्यमीले आफ्नो उद्योगमा लागनी गर्दा साँच्चै भन्ने हो भने विभिन्न खाले चुनौतीको सामना गर्नै पर्छ । त्यसो त च्याउ खेतीमा गरेको लगानी कुनै कारण भविश्यमा डुब्न पनि सक्छ । विनेशले भने–‘सम्भावित आउन सक्ने धेरै जोखिम र चुनौतीहरु हुँदा हुँदै पनि सामना गर्छु भन्ने अदम्य साहास गरेर च्याउ खेतीमा लागेको छु ।’
निष्कर्ष ः च्याउ खेतीमा लागेका धनकुटा नगरपालिका वडा नं.१० डुम्रे सान्नेका यूवा उद्यमी बिनेश दाहालमा उद्यमशिल बनेर समाजको लागि केहि गर्छु भन्ने जोश, जाँगर, आँट भरोषा र साहास देखिन्छ । उनको यूवा जोशलाई व्यवसायिक च्याउ खेतीमा प्राविधिक एवं आर्थिक हिसावले उत्पादन र बजारिकणको लागि स्थानिय सरकार वडा र धनकुटा नगरपालिकाले सहयोग गरिरहेको छ ।
बिनेश जस्ता सयौं यूवाहरु नगरका विभिन्न वडामा हुन सक्छन् । उनीहरुको सीप, जोश, जाँगर र उद्यमशिलतालाई पहिचान गरेर आर्थिक तथा प्राविधिक सहयोग निरन्तर गर्नु पर्दछ । किन भने सवै यूवामा उनको जस्तो जोश, जाँगर र साहास नहुन सक्छ । सेवा प्रदायक संस्थाले त्यस्ता कुराको अध्ययन, अनुशन्धान र पहिचान गर्न सक्नु पर्दछ । केहि गर्छु भन्नेलाई स्थानिय सरकारले सहयोग गर्न सके विनेश दाहाल जस्ता सयौं नगर क्षेत्रका यूवाहरु उद्यमी बन्न सक्छन् । उनीहरुले यस्ता उद्योगबाट धेरै जना वेरोजगार यूवाहरुलाई रोजगारी सृजना गर्न सक्छन् र आफ्नो भविश्य उज्वल बनाउन सक्छन् ।