
- धनकुटामा कोदोका १० जातको परीक्षण : किसानकै खेतमा उन्नत, अनुसन्धानरत र स्थानीय रैथाने गरी १० जातको कोदो रोपेर उत्पादन, वृद्धि र स्थानीय हावापानीसँगको अनुकूलता परीक्षण सुरु गरिएको छ।
- कुन जात उत्कृष्ट ? किसानले नै तुलना गर्ने : ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२, सैलुङ, केएलइ १५८, १५९, २३६ तथा स्थानीय लुली र मुड्की जातलाई वैज्ञानिक विधिबाट तुलना गरिँदैछ। किसानले आफ्नै आँखाले जातको प्रदर्शन हेरेर मूल्यांकन गर्नेछन्।
- उत्पादनसँगै आर्थिक उपयोगिता पनि मूल्यांकन : कुन जातले बढी उत्पादन दिन्छ, रोग–कीरा कम लाग्छ, स्थानीय माटो–मौसममा राम्रो हुन्छ र किसानलाई बढी आर्थिक लाभ दिन्छ भन्ने आधारमा जात छनोट गरिनेछ। स्थानीय रैथाने जातको संरक्षण र सम्भावनासमेत अध्ययन गरिँदैछ।
- उपयुक्त जात पहिचानपछि बजारसम्म जोड्ने लक्ष्य : परीक्षणबाट उत्कृष्ट जात पहिचान भएपछि त्यसको विस्तार, कोदोको प्रशोधन तथा बजारीकरणमा धनकुटा नगरपालिकाले सहयोग गर्नेछ। यसबाट कोदो उत्पादन वृद्धि, पोषण सुरक्षा र किसानको आयआर्जन बढाउने लक्ष्य राखिएको छ।
विदुर खवास
२६ साउन,धनकुटा। कोदोको उत्पादन बढाउने र स्थानीय हावापानी तथा माटोसँग सबैभन्दा राम्रोसँग अनुकूल हुने जात पहिचान गर्ने उद्देश्यले धनकुटामा किसानकै सहभागितामा कोदोका १० जातको जातीय परीक्षण सुरु गरिएको छ।
धनकुटा नगरपालिका–खाम्बेलामा सुरु गरिएको परीक्षणमा किसानका लागि सिफारिस गरिएका उन्नत जातदेखि अनुसन्धानकै क्रममा रहेका तथा स्थानीय रैथाने जातसम्मलाई एउटै बारिमा रोपेर तुलना गर्न थालिएको हो। किसानले आफ्नै आँखाले विभिन्न जातको वृद्धि, उत्पादन क्षमता र अनुकूलता हेर्न पाउने गरी परीक्षण सञ्चालन गरिएको छ।
परीक्षणमा ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र सैलुङ गरी पाँच उन्नत जात छन्। त्यस्तै अनुसन्धानकै क्रममा रहेका केएलइ १५८, केएलइ १५९ र केएलइ २३६ तथा धनकुटामा प्रचलित स्थानीय जात लुली र मुड्की पनि परीक्षणमा समावेश छन्। यी १० जातलाई वैज्ञानिक विधि आरसीबीडी अनुसार विभिन्न लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपिएको छ। एउटै स्थान र लगभग समान वातावरणीय अवस्थामै फरक–फरक जात हुर्काएर तिनको उत्पादन, वृद्धि, स्थानीय वातावरणसँगको अनुकूलता र किसानका लागि उपयोगिताको तुलनात्मक अध्ययन गरिनेछ।

किसान आफैं निर्णायक बन्ने अनुसन्धान
सामान्यतः कृषि अनुसन्धानको निष्कर्ष प्रयोगशाला वा अनुसन्धान केन्द्रबाट किसानसम्म पुग्ने गर्छ। तर खाम्बेलामा भइरहेको यो परीक्षणको विशेषता भनेको किसानलाई अनुसन्धानकै प्रक्रियामा प्रत्यक्ष सहभागी गराइनु हो। किसानले आफ्नो खेतमै विभिन्न जातको कोदो हेर्न, तुलना गर्न र त्यसको व्यवहार बुझ्न पाउनेछन्। कुन जातको बोट राम्रो हुन्छ, कुनमा रोग तथा कीराको जोखिम कम देखिन्छ, कुन जातले बढी उत्पादन दिन्छ र स्थानीय किसानका लागि कुन जात आर्थिक रूपमा उपयोगी हुन सक्छ भन्ने विषयमा उनीहरूको अनुभव पनि अनुसन्धानको महत्वपूर्ण आधार बन्नेछ।
वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार र विकास केन्द्र (सिप्रेड) नेपालका कार्यक्रम संयोजक टुक नारायण अर्यालका अनुसार किसानलाई उन्नत जातको कोदो उपलब्ध गराउने उद्देश्यले जातीय परीक्षण अघि बढाइएको हो।उनका अनुसार स्थानीय किसानको खेतमै परीक्षण गर्दा अनुसन्धानको निष्कर्ष व्यवहारिक र किसानको आवश्यकतासँग जोडिनेछ।

एउटै खेतमा १० जात, किसानलाई तुलना गर्ने अवसर
कोदोका फरक–फरक जातलाई एउटै स्थानमा रोपिएपछि किसानका लागि पनि यो परीक्षण एउटा प्रत्यक्ष सिकाइको अवसर बनेको छ।कुनै जातको बोट अग्लो हुँदैमा मात्रै राम्रो हुँदैन। उत्पादन कति हुन्छ, स्थानीय माटो र मौसमसँग कत्तिको मेल खान्छ, दाना कस्तो हुन्छ, खेती गर्न कति सहज छ र अन्ततः किसानलाई आर्थिक लाभ कति हुन्छ भन्ने विषयले जातको उपयोगिता निर्धारण गर्ने संयोजक टुक नारायण अर्यालले जानकारी दिए । परीक्षणमा उत्पादनसँगै स्थानीय अनुकूलता, किसानको उपयोगिता र सम्भावित आर्थिक लाभलाई समेत मूल्यांकनको आधार बनाइएको उनको भनाई छ ।
स्थानीयस्तरमै वैज्ञानिक अनुसन्धान सञ्चालन गरी किसानलाई प्रत्यक्ष सहभागी गराउँदा उनीहरूका लागि उपयुक्त जात र प्रविधि छनोट गर्न सहज हुने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का डा.कमल अर्यालले जानकारी दिए । किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले कोदोको उत्पादन बढाउन मात्रै नभई खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्याउने उनको भनाइ छ।
रैथाने जातसँगै उन्नत जातको प्रतिस्पर्धा
परीक्षणको अर्को महत्वपूर्ण पक्ष स्थानीय रैथाने जातलाई पनि समान रूपमा समावेश गर्नु हो। धनकुटामा पुस्तौंदेखि खेती हुँदै आएका लुली र मुड्की जस्ता स्थानीय जातलाई अनुसन्धानकै क्रममा रहेका तथा उन्नत जातसँग तुलना गरिनेछ। यसले स्थानीय जातको उत्पादन क्षमता र अनुकूलताबारे पनि तथ्यमा आधारित निष्कर्ष निकाल्ने अवसर दिनेछ। स्थानीय जात संरक्षणसँगै आधुनिक तथा उन्नत जातको सम्भावना पहिचान गर्नु अहिलेको कृषि क्षेत्रमा महत्वपूर्ण विषय हो। स्थानीय वातावरणमा राम्रो उत्पादन दिने जात पहिचान गर्न सके किसानले बाह्य स्रोतमा निर्भर नभई आफ्नै क्षेत्रमा उपयुक्त जातको विस्तार गर्न सक्ने सम्भावना रहने विज्ञहरुले बताएका छन ।
अनुसन्धानपछि बजारसम्म जोड्ने तयारी
जातीय परीक्षणबाट उत्पादनका दृष्टिले उपयुक्त जात पहिचान भएपछि त्यसलाई किसानको खेतसम्म पुर्याउने र उत्पादनलाई बजारसँग जोड्ने विषय पनि महत्वपूर्ण हुन्छ। धनकुटा नगरपालिकाले परीक्षणबाट छनोट हुने उपयुक्त कोदोका जातको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्ने जनाएको छ। कोदो तथा अन्य रैथाने बालीको प्रशोधनका लागि सहयोग गर्नुका साथै उत्पादित वस्तुलाई बजारसँग जोड्न नगरपालिकाले सहजीकरण गर्ने योजना बनाएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । यसले कोदोलाई केवल परम्परागत खाद्यान्नका रूपमा सीमित नराखी प्रशोधित खाद्य सामग्री र व्यावसायिक उत्पादनसँग जोड्ने सम्भावना पनि खोल्ने उनको भनाई छ ।

उत्पादन बढाउनेभन्दा पनि किसानलाई रोजाइ दिने लक्ष्य
खाम्बेलामा सुरु भएको परीक्षणको अन्तिम उद्देश्य एउटा जातलाई अर्कोभन्दा राम्रो घोषणा गर्नु मात्रै नभएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीको भनाई छ स्थानीय परिस्थितिमा कुन जात किन राम्रो हुन्छ भन्ने तथ्य पत्ता लगाएर किसानलाई वैज्ञानिक आधारमा छनोट गर्ने अवसर दिनु पनि यसको महत्वपूर्ण उद्देश्य रहेको उनले जानकारी दिए । परीक्षणबाट स्थानीय माटो र हावापानीमा राम्रो उत्पादन दिने जात पहिचान भयो भने त्यसको विस्तारले धनकुटामा कोदो उत्पादन वृद्धि गर्न सहयोग पुग्न सक्छ। उत्पादन बढेसँगै प्रशोधन र बजारको व्यवस्था गर्न सकिए कोदो किसानको आयआर्जनको थप माध्यम बन्ने सम्भावना रहेको उनको भनाई छ ।
रैथाने बाली संरक्षण, पोषण सुरक्षा र किसानको आयसँग जोडिएको कोदो खेतीका लागि खाम्बेलामा सुरु भएको यो परीक्षण एउटा सामान्य खेत परीक्षणभन्दा फरक रहेको उनको भनाई छ । अनुसन्धानको विषय किसानको खेतमा छ र निष्कर्षको पहिलो मूल्यांकनकर्ता पनि किसान नै बन्ने उनको भनाई छ । नगरपालिकाले वडा नं ८ मा रहेको सुनौलो कृषि सहकारी सस्थालाई स्थानीय रैथाने बालिको प्रसोधन ग्रेडिङ र प्याकेजिङ गर्न नगरपालिकाले सहयोग गर्ने जनाएको छ ।इसिमोड र सिप्रेडको आयोजनामा स्थानीय समुदाय, धनकुटा नगरपालिका, कृषि ज्ञान केन्द्र धनकुटा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबासको सहकार्यमा परीक्षण सञ्चालन भइरहेको हो।
