
६ बैशाख,धनकुटा । धनकुटामा विद्यालयस्तरीय खेलकुदमा एकछत्र वर्चस्व कायम गर्दै महालक्ष्मी नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्दै नयाँ कीर्तिमान बनाएको छ। साँगुरीगढी गाउँपालिकामा सम्पन्न १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ मा महालक्ष्मीले ३२ स्वर्ण, २६ रजत र २२ कास्य पदकसहित शीर्ष स्थान हासिल गर्दै शिल्ड स्थायी रूपमा आफ्नो नाममा सुरक्षित गरेको हो। लगातार तीन संस्करण जित्ने उपलब्धिले महालक्ष्मीलाई केवल विजेता मात्र होइन, जिल्लाको खेल विकासमा नमुना स्थानीय तहका रूपमा उभ्याएको छ। अघिल्ला वर्षहरूमा पनि प्रभावशाली प्रदर्शन गर्दै आएको महालक्ष्मीले यसपटक पनि प्रतिस्पर्धी ६ स्थानीय तहलाई स्पष्ट अन्तरले पछि पार्दै आफ्नो दबदबा कायम राख्यो।
प्रतियोगितामा धनकुटा नगरपालिकाले १६ स्वर्णसहित दोस्रो स्थान सुरक्षित गर्दा चौबिसे गाउँपालिकाले १० स्वर्ण जित्दै तेस्रो स्थानमा सीमित रह्यो। विजेता खेलाडीहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पुरस्कार तथा शिल्ड वितरण गरे।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सम्पन्न प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहबाट करिब ५०० खेलाडी सहभागी भएका थिए। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। महालक्ष्मीको निरन्तर सफलताले विद्यालयस्तरदेखि खेलाडी उत्पादन, प्रशिक्षण व्यवस्थापन र लगानीको प्रभावकारिता उजागर गरेको छ। यस्तो निरन्तरता संयोग मात्र नभई योजनाबद्ध अभ्यास र पूर्वाधार विकासको परिणाम भएकाे महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायले जानकारी दिए । आगामी १७ औँ संस्करणको संयोजन धनकुटा नगरपालिकाले गर्ने भएको छ । महालक्ष्मीको वर्चस्व चुनौती दिन अन्य स्थानीय तहले कस्तो तयारी गर्छन् भन्ने मा खेलप्रेमीहरु काे चासाे बढेको छ।
