
२८ चैत्र, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ स्थित कोप्चे क्षेत्रमा “चौथो कोप्चे उत्सव–२०८३” आयोजना हुने भएको छ। कोप्चे पुनर्जागरण अभियानको आयोजनामा आगामी चैत ३० देखि वैशाख २ सम्म बिहीबारे हटियामा मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन भन्ने नारासहित कोप्चे फेस्टिभलको चौथो संस्करण आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकोछ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण मानिएको कोप्चे क्षेत्र पछिल्लो समय आर्थिक तथा सामाजिक गतिविधिमा कमी आएकोले यसको पुनर्जीवनका लागि उत्सव आयोजना गर्न लागिएको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्मचार्यले जानकारी दिए । “मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन” भन्ने नाराका साथ सञ्चालन हुने कार्यक्रमले स्थानीय कला, संस्कृति, भेषभूषा र परिकारको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएकोआयोजकले जनाएको छ । स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनु, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन गर्नु तथा कोप्चेलाई आन्तरिक र बाह्य पर्यटन केन्द्रको रूपमा विकास गर्नु उत्सवको प्रमुख उद्येश्य रहेको कोप्चे पुनर्जागरण अभियानका उपाध्यक्ष रीदम श्रेष्ठले जानकारी दिए । उत्सव अवधिमा स्थानीय परिकारका स्टल, विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद , पुराना सामग्री तथा तस्वीर प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा बिक्री लगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । साथै, संस्कृति संरक्षण र पर्यटन विकासका विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ। उक्त उत्सवमा करिब २० वटा स्टल रहनेछन् भने करिब १५ हजार आन्तरीक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य आयाजकको छ । कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, स्थानीय तह तथा बाह्य निकायसँग सहकार्य गरिएको समेत आयोजक जनाएको छ। उत्सवमा १३ लाख ३५ हजार रुपैयाँ बराबरको खर्च रहने आयोजकको अनुमान छ । करिब २५० वर्षसम्म पूर्वको प्रशासनिक केन्द्रको रूपमा परिचित धनकुटामा पछिल्लो समय घट्दो चहलपहल र आर्थिक गतिविधिलाई पुनर्जीवित गर्न स्थानीय युवाले कोप्चे पुनर्जागरण अभियान सञ्चालन गर्दै आएका छन्।












