
२३ चैत्र,धनकुटा । धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत एक इन्जिनियरसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो।
सेवाग्राहीबाट घुस लिएको ८५ हजार रुपैयाँसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। त्यस्तै, लेखा अधिकृत कार्कीलाई धनकुटाबाट र इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको हो।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मा रहेको विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियाका क्रममा उनीहरूले सेवाग्राहीसँग विभिन्न बहानामा दुःख दिँदै घुस मागेको आरोप छ।
उक्त विषयमा उजुरी परेपछि खटिएको अख्तियारको टोलीले घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट तीन थान मोबाइल र विभिन्न कागजातसमेत बरामद गरिएको जनाइएको छ ।












