
फागुन १२, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाले प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश भण्डारी को वाचा पत्र सार्वजनिक गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रतिबद्धतामा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
उम्मेदवार भण्डारीले संघीय सांसदको हैसियतमा संविधानले निर्दिष्ट गरेका दायित्वहरू इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले राष्ट्रिय नीति तथा बजेटमा धनकुटाको विकासका मुद्दा सशक्त रूपमा उठाउने, स्थानीय जनताका समस्या संसदमा निरन्तर प्रस्तुत गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्ने बताएका छन्।
मुख्य एजेन्डा
१. सुशासन र पारदर्शिता
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
२. कृषि तथा पर्यटन विकास
किसानलाई समयमै मल–बीउ उपलब्ध गराउने, उत्पादनको बजारीकरण सुनिश्चित गर्ने तथा धनकुटाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गरी पर्यटन प्रवाह बढाउने योजना अघि सारिएको छ।
३. शिक्षा सुधार
व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र सहयोग कार्यक्रम विस्तार गर्ने उल्लेख गरिएको छ।
४. स्वास्थ्य सेवा सुदृढीकरण
गरिब तथा विपन्न परिवारलाई निःशुल्क उपचार सुनिश्चित गर्ने, स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति गर्ने तथा आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने योजना समेटिएको छ।
५. खानेपानी तथा सिँचाइ
हरेक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार भण्डारीले आफ्नो राजनीति सेवा, इमान्दारिता र परिणाममुखी कार्यशैलीमा आधारित हुने बताएका छन्।








