
धनकुटा, ४ पुस । आँप खेती ब्लक विकास कार्यक्रम सञ्चालनका लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि किसानबाट आवेदन नपरेपछि धनकुटामा गाउँपालिका र कृषि ज्ञान केन्द्रका अधिकारी गाउँ–गाउँमा पुगेर आँप खेती गर्ने किसान खोज्न थालेका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकामा १ हजार ४ सय रोपनी क्षेत्रफलमा आँप खेती ब्लक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको हो। छथरजोरपाटी गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का तल्लो भेगमा पर्ने बन्चरे, सिंभूवा, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा र ताम्लिङ क्षेत्रलाई आँप खेतीका लागि सम्भाव्य क्षेत्रका रूपमा पहिचान गरिएको छ।
यी क्षेत्रमा रहेको बाँझो जमिनको सदुपयोग गर्ने उद्देश्यले किसानसँग ५० प्रतिशत लागत साझेदारीमा आँप खेती ब्लक विकास कार्यक्रम लागू गर्न खोजिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर पटक–पटक सार्वजनिक सूचना आह्वान गर्दा पनि किसानको आवेदन नआएपछि गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी प्रत्यक्ष रूपमा गाउँ पसेका हुन्। छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना तथा कृषि अधिकृतसहितको टोलीले गाउँमा पुगेर आँप ब्लक विकास परियोजनाको मोडेल, लागत साझेदारी, खेती गर्ने तरिका र यसबाट हुने फाइदाबारे किसानलाई जानकारी गराइरहेको छ।“हामी टोल–टोलमा पुगेर आँप खेतीको महत्त्व बुझाइरहेका छौं,” कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले भने, “यस परियोजनामार्फत आँप खेती गर्न चाहने किसान भेटिरहेका छौं। जग्गा र इच्छुक किसानको विवरण संकलन गरिरहेका छौं।”उनका अनुसार संघीय सरकारको सहयोगमा आँप ब्लक विकास कार्यक्रमअन्तर्गत खेती विस्तारका लागि ५० प्रतिशत र सिँचाइका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ। यस कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ, जसमा किसानले पनि त्यत्तिकै लगानी गर्नुपर्नेछ।कार्यक्रम सञ्चालनका लागि ज्ञान केन्द्रले मंसिर १० गतेयता दुई पटक सार्वजनिक सूचना जारी गरिसकेको जनाएको छ।छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले सरकारले ‘गरिखाने’ उद्देश्यसहित कार्यक्रम ल्याउँदा पनि किसानहरू अनिच्छुक देखिएपछि गाउँमै पुगेर उद्यमशीलताको चेतना फैलाउनुपर्ने अवस्था आएको बताए।
उनले भने, “नगर्दा सरकारले केही गरेन भनेर गुनासो गर्ने र कार्यक्रम आउँदा चासो नदेखाउने अवस्था भएपछि किसान खोज्न गाउँ पसेका हौं।”आँप खेतीका लागि आवश्यक किसान नपाए सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर सामुदायिक वन क्षेत्रमै पनि आँप खेती गर्ने योजना रहेको अध्यक्ष सुब्बाले जानकारी दिए।





