
पुस १ धनकुटा । नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपन सन् २०२१ मा घटेर ०.२८ प्रतिशतमा झरेको पाइएको छ। नेपाल नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभाका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सो तथ्य उल्लेख गरिएको हो।
प्रतिवेदनअनुसार हाल नेपाल नेत्रज्योति संघमार्फत देशभर २८ वटा आँखा अस्पताल र २ सय २६ वटा उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सन् २०२४ मा ३२ लाख ६८ हजार जनाले आँखा उपचार सेवा लिएका थिए भने तीमध्ये २ लाख ५८ हजार जनाले शल्यक्रिया सेवा लिएका छन्। कुल शल्यक्रियामध्ये ३४ हजार निःशुल्क गरिएको संघले जनाएको छ। नेपाल नेत्रज्योति संघ धनकुटाका सचिव देवबहादुर खड्काका अनुसार धनकुटा जिल्लामा हाल २ हजार ८ सय १३ जनालाई शल्यक्रियाको आवश्यकता रहेको छ भने ५ सय ६३ जनालाई नियमित शल्यक्रिया आवश्यक छ। यस्तै २४ हजार २ सय १० जनालाई चस्माको आवश्यकता रहेको तथ्याङ्क छ। पूर्वी पहाडी जिल्लाका आँखाका रोगीलाई सेवा पुर्याउने उद्देश्यले वि.सं.२०७० सालबाट सञ्चालनमा आएको नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा सञ्चालित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले १२ औँ वार्षिक उत्सव तथा १५ औँ साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभामा प्रस्तुत विवरणअनुसार अस्पतालबाट आर्थिक वर्ष २०७९।८० मा १४ हजार ३ सय ५८ जना, आर्थिक वर्ष २०८०।८१ मा १९ हजार ४६ जना र आर्थिक वर्ष २०८१।८२ मा १७ हजार ८ सय २५ जनाले विभिन्न आँखा उपचार सेवा लिएका छन्। आर्थिक विवरणअनुसार अस्पतालले गत आर्थिक वर्षमा १ करोड ७० लाख ६३ हजार १ सय ३७ रुपैयाँ ४८ पैसा आम्दानी गरेको थियो भने १ करोड ७० लाख ३१ हजार ५ सय ६९ रुपैयाँ ३१ पैसा खर्च भई ३१ हजार ५ सय ६८ रुपैयाँ १७ पैसा बचत भएको जनाएको छ। साधारणसभाको अवसरमा नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा सञ्चालित डा.रामप्रसाद पोखरेल आँखा अस्पतालले विराटनगर आँखा अस्पताललाई सम्मान गरेको छ। रामप्रसाद पोखरेल आँखा अस्पतालको सेवा गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याएको भन्दै विराटनगर आँखा अस्पताललाई सम्मान गरिएको हो। त्यसैगरी धनकुटा नगरपालिका–७ निवासी रेजिना पलिखेले अस्पतालको कोष वृद्धिका लागि ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।





