२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

महालक्ष्मी–७ जितपुरमा १,५०० भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण



मंसिर २८,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढी स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। निजामती कर्मचारी अस्पताल, काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।शिविरमार्फत नगरभित्रका करिब १,५०० भन्दा बढी नागरिकको विभिन्न रोगको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणसँगै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।


शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, छाला रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य तथा बालरोगसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। साथै नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला, ईसीजी ९मुटु जाँच०, फोक्सो परीक्षण तथा दाँत रोगसम्बन्धी सेवा समेत प्रदान गरिएको अर्खौले जितपुर सेवा समाज धनकुटाका संस्थापक अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए।
जन्म, कर्म र पैत्रिक थलो महालक्ष्मी नगरपालिका भए पनि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका समाजका सदस्यहरूले प्रत्यक्ष रूपमा नगरको स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको अध्यक्ष नेपालले बताए।
शिविरले आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म पुग्न नसकेका बिरामीहरूलाई विशेष टेवा पुगेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताए। उनका अनुसार शिविरले नगर क्षेत्रका नागरिकको रोग पहिचान गरी थप उपचारका लागि सहयोग पुर्‍याएको छ।