
धनकुटा, मङ्सिर २६ । पत्रकारहरूकालागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
‘वल्र्ड इन्भेष्टर विक–२०२५’ को अवसरमा अनलाइन सेक्युरिटिज लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटा शाखा र अनलाइन सेक्युरिटिज लिमिटेडको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक दिनेश शर्मा विडारी र धरान शाखा प्रमुख सुजन निरौलाले शेयर बजार तथा धितोपत्रसम्बन्धी विभिन्न विषयमा सहज र व्यवहारिक तौरले शहजिकरण गरेका थिए ।
उनीहरुले शेयर इश्यू प्रक्रिया, बजारमा बिक्री गरी आम्दानी गर्ने तरिका, शेयरका प्रकार, धितोपत्र बजारको संरचना, कम्पनी गठन तथा प्रकार, शेयरधनीका वर्ग, सञ्चालक समितिको भूमिका लगायतका आधारभूत विषयहरूबारे जानकारी दिएका हुन । उनीहरुले सेयर बजारमा लगानी रणनीति, लाभांश प्रणाली, कहिलेसम्म सेयर किन्दा लाभांश पाउने, हकप्रद सेयर, अग्राधिकार सेयर, ऋणपत्र, सामुदायिक लगानी कोष जस्ता विषयमा समेत सहभागीहरूलाई विस्तृत जानकारी दिए ।
कार्यक्रमले पत्रकारहरूलाई वित्तीय ज्ञान, लगानी सचेतना र पूँजीबजार सम्बन्धी व्यवहारिक अभिवृद्धिमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ।





