
२० कात्तिक ,धनकुटा । धनकुटामा रहेको करदाता सेवा कार्यालय नहटाई सोही कार्यालयलाई स्तरवृद्धि गरी पूर्वी पहाडी जिल्लाहरूको लागि आन्तरिक राजस्व कार्यालयको रूपमा विस्तार गर्न उद्योगी, व्यवसायी तथा व्यापारीहरूले नेपाल सरकारसँग माग गरेका छन् ।
धनकुटा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कामार्फत प्रधानमन्त्री, अर्थमन्त्री र आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष ज्ञापनपत्र पठाउँदै करदाता सेवा कार्यालय हटाउने निर्णय तत्काल रोक्न र कार्यालयलाई धनकुटामै स्थायी रूपमा सुदृढ गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव रामबहादुर रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठसहित कार्यसमितिका सदस्यहरू अम्बिका धमला, नविन श्रेष्ठ, शोभा श्रेष्ठ, उज्वल कर्माचार्यलगायत उद्योगी तथा व्यापारीहरू ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संघको टोलीले ज्ञापनपत्र करदाता सेवा कार्यालय धनकुटाका प्रमुख बुधराज लिम्बुलाई समेत बुझाएको जनाएको छ । सो अवसरमा भीमदल गण सल्लेरी ब्यारेकका प्रमुख गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक राजन कार्की, प्रशासन अधिकृत पुष्पराज धमला र रामजी पौडेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासलगायत सञ्चारकर्मी तथा व्यापारीहरूको उपस्थिति रहेको थियो ।
धनकुटामा लामो समयदेखि सञ्चालनमा रहेको करदाता सेवा कार्यालयले यस क्षेत्रका उद्योगी, व्यवसायी र करदाताहरूलाई प्रत्यक्ष कर प्रशासनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कार्यालय हटाइए करदाताहरूलाई ठूलो असुविधा हुने भन्दै उद्योगी व्यवसायीहरूले तत्काल सरकारको ध्यानाकर्षण गराएका छन् ।





