
९ असार–धनकुटा । धनकुटा नगरपालिका–२, भीरगाउँस्थित श्री श्रीमान् टङ्क माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दल (रासेवा) अन्तर्गत जुनियर डिभिजनको तालिम सोमबारदेखि विधिवत रूपमा सुरु भएको छ। तालिमको उद्घाटन श्री भीमदल गणका गणपति प्रमुख सेनानी श्री गणेश थापाले गरे। उक्त तालिममा छात्र १५ जना र छात्रा १५ जना गरी कुल ३० जना विद्यार्थीको सहभागिता रहेको छ। नेपाली सेनाले हरेक वर्ष विद्यालय स्तरका छात्रछात्राहरुलाई अनुशासित, स्वाभिमानी तथा राष्ट्रप्रति समर्पित बनाउने उद्देश्यले राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्दै आएको छ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश रासेवा कार्यक्रम अन्तर्गत नेपाली सेनाले देशभरका विभिन्न विद्यालयहरुमा जुनियर र सिनियर डिभिजनका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ। यसैअनुसार धनकुटाको श्रीमान् टङ्क मा.वि.मा करिब १०० दिन लामो यो तालिम सुरु गरिएको हो। तालिमलाई संस्थागत तालिम र वार्षिक सामुहिक क्याम्प गरी दुई चरणमा विभाजन गरी सञ्चालन गरिनेछ। यसमा सामान्य सैन्य कला, बेसिक फिटनेस अभ्यास, व्यक्तित्व तथा नेतृत्व विकास, र विपद् प्रतिकार्य सम्बन्धी अभ्यासहरु समावेश गरिएका छन्। नेपाली सेनाको पहलमा सञ्चालन हुने यस प्रकारका तालिमहरुले युवाहरुलाई राष्ट्र निर्माणमा योगदान दिने, संकटको घडीमा निस्स्वार्थ सेवा पुर्याउने तथा विपद्का बेलामा उद्धार कार्यमा सक्षम बनाउने विश्वास लिएको श्रीमान् टङ्क माध्यामिक विद्यालयका प्र .अ नरबहादुर विश्वकर्माले जानकारी दिए ।
