
१२ चैत्र,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५, डाँडाबजारमा बैशाख दोस्रो साताबाट साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप आयोजना हुने भएको छ । डाँडाबजार फुटबल क्लब, डाँडाबजार धनकुटाको आयोजनामा हुने उक्त प्रतियोगिता बैशाख १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा २२ लाख ७३ हजार रुपैयाँ खर्च हुने आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । गोल्डकपको मुख्य प्रायोजक साँगुरीगढी गाउँपालिका रहेको छ भने वडा नम्बर ५, स्थानीय संघ–संस्था तथा डाँडाबजारवासीको पनि सहयोग रहेको आयोजक डाँडा बजार फुटबल क्लबका अध्यक्ष राजकुमार लिम्बुले जानकारी दिए ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। विजेता टिमलाई ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलकुदप्रेमी दर्शकहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप धनकुटाको खेलकुद क्षेत्रको महत्वपूर्ण प्रतियोगिता बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सागुरीगढी गाउँपालिकाको खेलकुदको विकासको लागि गाउँपालिका लागि पर्ने बताए । उनले गाउँपालिकाले यो आर्थिक बर्षमा मात्र खेलकुदको क्षेत्रमा मात्र १ करोड भन्दा माथि खर्च गरिसकेको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले खेलकुदको विकासमा सक्दो सहयोग गर्ने बताए ।